एनपीएलमा ८ लाख ७५ हजार रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतीय नागरिक पक्राउ
१ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरिया रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका–१७, ठमेलमा बस्दै आएका थिए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा अनलाइनमार्फत सट्टेबाजी भइरहेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी टोलीले पथरियालाई नियन्त्रणमा लिएर उनीसँग रहेका दुई थान मोबाइल फोन जाँच गर्दा 'allpanelexch9.global' नामक अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका क्रिकेट खेलहरूमा पटक–पटक सट्टेबाजी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनले सट्टेबाजीमार्फत नेपाली रुपैयाँ ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेका थिए । पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0