सर्लाहीमा कार र अटो ठोक्किँदा ६ जना घाइते, दुई जनाको अवस्था गम्भीर
१ मंसिर,बारा । सर्लाहीको पर्सा गाउँपालिका–१ शीतलपुरस्थित सडकखण्डमा कार र अटो एकआपसमा ठोक्किँदा ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
मंगलबार बिहान १०ः२० बजे महोत्तरीको सम्सीबाट शीतलपुरतर्फ जाँदै गरेको बा २१ च ३०१५ नम्बरको कार फर्काउने क्रममा सोही दिशाबाट आइरहेको ज १ ह ३७४५ नम्बरको अटोसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा अटो चालक महोत्तरीको सोनमा गाउँपालिका–५ निवासी ३५ वर्षीय रविन्द्र यादवसहित ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये महोत्तरीको सम्सी गाउँपालिका–७ निवासी ६० वर्षीय राजकिशोर साह र सर्लाहीको मलंगवा नगरपालिका–१२ गमरियाकी २८ वर्षीया रेनु देवी साहका ७ वर्षीय छोरा मुरारी साहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।त्यस्तै, दुर्घटनामा सर्लाहीको कौडेना गाउँपालिका–६ सकरौल निवासी २१ वर्षीय जसविन्द्र मुखिया, मलंगवा नगरपालिका–१२ गमरिया निवासी २८ वर्षीया रेनु देवी साह र मलंगवा नगरपालिका–७ मुसैली निवासी १६ वर्षीया अम्बिका यादव घाइते भएका छन् । रेनु देवीको अवस्था सामान्य रहेको छ ।
सबै घाइतेलाई सुरुमा महोत्तरीको रघुनाथपुरस्थित आरबी अस्पताल लगिएको थियो । प्रहरीले कार चालक महोत्तरीको सोनमा गाउँपालिका–३ रघुनाथपुर निवासी ५१ वर्षीय मनोज कुमार साहलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0