बीपी राजमार्ग दुर्घटना : गम्भीर घाइते ७ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

Nov 17, 2026 - 18:34
 0  15
बीपी राजमार्ग दुर्घटना : गम्भीर घाइते ७ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगियो

१ मंसिर,बारा । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा घाइते भएका १४ जनामध्ये गम्भीर अवस्थाका ७ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।

 सिन्धुलीका प्रहरी प्रमुख एसपी रवीन्द्रबहादुर सिंहका अनुसार गम्भीर घाइतेहरूको अवस्था हेरेर तत्काल उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।

 मंगलबार दिउँसो जनकपुरबाट काठमाडौं जादै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा माइक्रोबसमा सवार सबै १४ जना घाइते भएका छन् । हेलिकप्टरबाट काठमाडौं पठाइएका ७ जनाबाहेक बाँकी ७ जनाको खुर्कोटस्थित शुभजीवन अस्पतालमा उपचार भइरहेको छ ।

 घाइतेमध्ये हालसम्म ९ जनाको पहिचान खुलेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

पहिचान खुलेका घाइतेमध्ये धनुषाको जनकनन्दिनी गाउँपालिका–९ बिर्ताकी सीता यादव र उनका १४ वर्षीय छोरा पियुस गोहितको अवस्था गम्भीर छ । त्यस्तै, ३ वर्षीय ओम साह, धनुषाको शहीदनगर नगरपालिका–७ का प्रिन्स साह र सोही स्थानका श्यामबहादुर मण्डल पनि गम्भीर घाइते भएका छन् ।

धनुषाको जनकनन्दिनी गाउँपालिकाका दीपेन्द्र यादवको अवस्था भने मध्यम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0