मौलिक चाडपर्वलाई सामाजिक सद्भावको आधार बनाउन प्रधानमन्त्रीको आग्रह
ईर्साद अन्सारी
२४ कातिक,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मौलिक चाडपर्वले समाजमा आपसी सद्भाव, आत्मीयता र सामाजिक एकता बलियो बनाउन प्रेरित गर्नुपर्ने बताएका छन्।
नेपाल संवत् ११४७, म्हः पूजा, गोवर्धन पूजा तथा हली तिहारको अवसरमा मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै उनले रिसराग भुलेर सहिष्णुता र एकताको भावना विकास गर्न आग्रह गरेका हुन्।
‘हाम्रा यी मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैं बलियो बनाउन प्रेरित गरून्,’ प्रधानमन्त्री शाहले लेखेका छन्। उनले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर सुरु गरेको नेपाल संवत् नेपाली मौलिक समयचक्र र राष्ट्रिय पहिचानको प्रतीक भएको उल्लेख गरेका छन्।
म्हः पूजाको सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे चर्चा गर्दै प्रधानमन्त्री शाहले आफ्नै देह र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि र चेतनाको बोध गराउने बताएका छन्। यसले नेवार समुदायको आपसी सद्भाव, आत्मबल, पुर्ख्यौली संस्कृतिको संरक्षण तथा जातीय एकतालाई थप मजबुत बनाएको उनको भनाइ छ।
त्यसैगरी, गोवर्धन पूजा तथा हली तिहारको प्रसंगमा उनले कृषिकर्मका सहयात्री गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो, फालीलगायत कृषि औजारको पूजा गर्ने परम्पराको महत्त्व स्मरण गरेका छन्।
भैलो र देउसीले छरछिमेकबीच आत्मीयता र सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले चाडपर्वले सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0