वीरगञ्ज आईसीपीबाट निस्केकाे माछाको मिनी ट्रक फेरि समातियाे: भन्सार छली र ‘सेटिङ’ को श्रृंखला फेरि उदाङ्गियो
२१ कातिक,बारा । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) को कडा सुरक्षा घेरा र भन्सार जाँचलाई छलेर बारम्बार भन्सार घोषणाभन्दा बढी परिमाणमा मालसामान भित्रिनु र त्यसमाथि सुरक्षा तथा प्रशासनिक निकायले नै घटनाका विवरण लुकाउन खोज्नुले सिङ्गो व्यवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ।
भारतबाट माछा बोकेर आईसीपी हुँदै वीरगञ्जको नगवास्थित सुरज फिस सप्लायर्सको गोदामतर्फ जाँदै गरेको ‘यूपी ६६ एटी ८०४७’ नम्बरको मिनी ट्रक सशस्त्र प्रहरीले सुक्रबार राती पुन: नियन्त्रणमा लिनु सामान्य घटना होइन।
यसअघि पनि कात्तिक १८ गते नियन्त्रणमा लिइएको ट्रकको जाँच गर्दा घोषणा गरिएको भन्दा ४४ बाक्सा (२ हजार ६ सय ४० किलोग्राम) बढी माछा फेला परेको थियो। अझ गम्भीर र डरलाग्दो विषय त यो छ कि, त्यही ट्रकमा माछाको त्रिपालमुनि लुकाएर ल्याइएको अवस्थामा प्रतिबन्धित पटाकासमेत बरामद भएको थियो।
एउटै व्यावसायिक नेक्सससँग जोडिएका माछा ढुवानीका गाडीहरूमा बारम्बार यसरी नियम विपरीतका सामान भित्रिनु र भन्सार जाँचमा संलग्न अधिकृत तथा कर्मचारीहरू यो विषयमा चुपचाप रहनुले कतै यो भन्सारका कर्मचारीदेखि सुरक्षा पोस्टसम्मको ‘मिसिनरी सेटिङ’ त होइन भन्ने शंकालाई बल पुर्याएको छ।
यति संवेदनशील र कानुनविपरीतका घटना हुँदा पनि सुरक्षा निकाय र भन्सार प्रशासनले सुरुमा यसलाई बाहिर ल्याउनुको सट्टा सूचना लुकाउने र लुकाउन खोज्ने प्रवृत्तिले तल्लो तहदेखि माथिल्लो तहसम्मको मिलेमतो (सेटिङ) रहेको जनगुनासोलाई थप पुष्टि गरेको छ।
देशको प्रमुख नाका मानिने वीरगञ्ज भन्सारबाटै यसरी राजस्व छली हुनु र प्रतिबन्धित तथा विस्फोटक पदार्थसमेत भित्रिनुले राष्ट्रिय सुरक्षा र राजस्व प्रणालीमाथि नै ठوलो प्रश्न उठेको छ।
सुक्रबार राति नियन्त्रणमा लिइएको मिनी ट्रकमाथिको जाँचले मात्र यो प्रपञ्च स्पष्ट पार्दैन, बरु यसका पछाडि रहेका सेटिङ र संरक्षण गर्नेहरूको गहन छानबिन गरी कडा कानुनी कारबाही गर्न अब ढिलाइ गर्नु हुँदैन। पक्राउ परेकाे ट्रक भन्सार बुझाउने तैयारी भईरहेकाे छ । फाेटाे एआई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
1
क्या राम्रो
0