सोमपालको दोहोरो धमाका, विराटनगरलाई हराउँदै कर्णालीको लगातार दोस्रो जित
१२ कातिक,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
कप्तान सोमपाल कामीले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेपछि कर्णालीले १८७ रनको लक्ष्य अन्तिम ओभरमा पूरा गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
रोमाञ्चक बनेको खेलमा कर्णालीलाई जित दिलाउन कप्तान सोमपालले ३२ बलमा अविजित ६२ रन बनाए । उनले टोलीको जितमा निर्णायक भूमिका खेले । गुलशन झा २८ रनमा अविजित रहे भने पवन सर्राफले ३६ र दीपक डुम्रेले २० रन जोडे ।
लक्ष्य पछ्याउने क्रममा दबाबमा परेको कर्णालीलाई सोमपाल र गुलशनको अविजित साझेदारीले जितसम्म पुर्यायो । बलिङमा पनि चम्किएका सोमपालले विराटनगरका चार ब्याटरलाई आउट गरे ।
विराटनगरका एन्जेलो म्याथ्युजले तीन विकेट लिए भने चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक–एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८६ रन बनाएको थियो ।
विराटनगरका ओपनर लोकेश बमले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा ८७ रन जोडे । उनले आफ्नो इनिङ्समा नौ छक्का र तीन चौका प्रहार गरे । एन्जेलो डेभिस म्याथ्युजले ३१ र आन्द्रे रसेलले २७ रनको योगदान दिए पनि विराटनगरले बनाएको बलियो योगफल जितका लागि पर्याप्त हुन सकेन ।
कर्णालीका सोमपालले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए । यस जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको छ ।
यसअघि कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो । यता विराटनगर भने अघिल्लो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0