प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप भएको भन्दै पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

Nov 17, 2026 - 16:27
 0  7
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप भएको भन्दै पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

१ मंसिर,काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले अनुदार व्यवहार देखाएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

 महासंघ केन्द्रीय समितिले मंगबार प्रेस विज्ञप्ति जारी गर्दै समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसायले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउनेमाथि हालसम्म कारबाही नभएको भन्दै विरोध जनाएको हो ।

त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकारको उल्लंघन भएको र लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएको विषयलाई पनि महासंघले आन्दोलनको कारणका रूपमा उल्लेख गरेको छ ।

महासंघले सार्वजनिक गरेका आन्दोलनका कार्यक्रमअनुसार मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ ।

 त्यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ भने मंसिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्नेछन् । मंसिर ९ गते महासंघका जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला हुने कार्यक्रमसमेत घोषणा गरिएको छ ।

महासंघले यी कार्यक्रमबाट माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ ।महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा प्रेस स्वतन्त्रता, पत्रकारको श्रम अधिकार तथा सञ्चारमाध्यमको स्वतन्त्रतामाथि भइरहेको हस्तक्षेपविरुद्ध आन्दोलन घोषणा गरिएको उल्लेख छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0