९६ क्यारेटको भन्सार प्रज्ञापनमा १४४ क्यारेट माछा भित्र्याउन खोजेको आशंका, मिनी ट्रक प्रहरी नियन्त्रणमा
१९ कातिक,बारा । वीरगञ्ज महानगरपालिका–नगवास्थित सुरज फिस सप्लायर्सको माछा बोकेको मिनी ट्रकलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ। भन्सारमा ९६ क्यारेट माछाको मात्रै प्रज्ञापनपत्र बनाएर १४४ क्यारेट माछा भित्र्याउन खोजिएको आशंकामा प्रहरीले गाडी नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार, वीरगञ्जस्थित एकीकृत जाँचचौकी (आईसीपी) बाट भन्सार जाँचपास भएर नगवातर्फ आउँदै गरेको प्रदेश २००–१–ख–७०७४ नम्बरको मिनी ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भारतको आन्ध्र प्रदेशबाट ल्याइएको उक्त माछा बोकेको गाडीमा भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएकोभन्दा बढी परिमाण रहेको स्रोतको दाबी छ। स्रोतका अनुसार, ९६ क्यारेट माछाको मात्रै भन्सार प्रक्रिया पूरा गरेर १४४ क्यारेट माछा भित्र्याउने प्रयास गरिएको थियो।
एउटै भन्सार प्रज्ञापनपत्र प्रयोग गरी तीनवटा गाडीमा माछा निकाल्न खोजिएको सूचना पाएपछि प्रहरीले निगरानी बढाएको थियो। सो क्रममा एउटा गाडी नियन्त्रणमा परे पनि अन्य दुईवटा गाडी भने फेला पर्न नसकेको बताइएको छ।
प्राप्त भन्सार कागजातमा आयातकर्ताका रूपमा सुरज फिस सप्लायर्स, पर्सा उल्लेख छ भने भारतको रक्सौलस्थित बालाजी ट्रेडर्स निर्यातकर्ता देखिन्छ। भन्सार प्रज्ञापनपत्रमा सुरज फिस सप्लायर्सका सञ्चालक विपिनको नाम जोडिएको छ। उनी विवादित व्यवसायी रहेको दाबीसमेत स्रोतले गरेको छ।
गाडी नियन्त्रणमा लिएपछि माछासहितको मिनी ट्रक छुटाउन प्रहरीमाथि विभिन्न माध्यमबाट प्रभाव र दबाब सिर्जना गर्ने प्रयास भइरहेको स्रोतको दाबी छ। भन्सार छलीको आशंकामा नियन्त्रणमा लिइएको गाडी अनुसन्धान प्रक्रिया पूरा नगरी छुटाउन खोजिएको हो भने यसले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबारमा व्यापारीको पहुँच र प्रभावबारे गम्भीर प्रश्न उठाउने देखिन्छ।
नियन्त्रणमा लिइएको माछासहितको मिनी ट्रक वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको र भन्सार बुझाउन बाँकी रहेको बताइएको छ। नेपालमा माछा उत्पादन बढ्दै गएको र स्वदेशी उत्पादनले बजार विस्तार गरिरहेको अवस्थामा भन्सार छली गरेर भारतीय माछा भित्र्याउने गतिविधिले नेपाली माछापालक किसानलाई प्रत्यक्ष असर पार्ने गरेको गुनासो छ।
प्रज्ञापनपत्रमा उल्लेख भएकोभन्दा बढी माछा भित्र्याउने तथा भन्सार छली गरेर कारोबार गर्ने प्रवृत्तिले स्वदेशी उत्पादनले उचित बजार र मूल्य पाउन नसक्ने किसानहरूको चिन्ता छ। सीमावर्ती क्षेत्रमा हुने यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने निकायमाथि नै दबाब सिर्जना गर्ने प्रयास भएको हो भने त्यसले अवैध आयात नियन्त्रणको प्रभावकारितामाथि थप प्रश्न खडा गर्नेछ।
नियन्त्रणमा लिइएको माछाको वास्तविक परिमाण, भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको विवरण र ९६ तथा १४४ क्यारेटबीचको अन्तरबारे जिल्ला प्रहरी कार्यालय पर्साको आधिकारिक धारणा सार्वजनिक हुन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0