सुदूरपश्चिमलाई १०५ रनमै समेट्दै लुम्बिनी एनपीएलको फाइनलमा, डिकवेलाको अविजित ५९ रन निर्णायक

Nov 17, 2026 - 20:38
 0  10
सुदूरपश्चिमलाई १०५ रनमै समेट्दै लुम्बिनी एनपीएलको फाइनलमा, डिकवेलाको अविजित ५९ रन निर्णायक

१ मंसिर,काठमाडौं । सुदूरपश्चिम रोयल्सको कमजोर ब्याटिङको फाइदा उठाउँदै लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि भिडन्तमा आफ्नो स्थान सुरक्षित गरेको हो।

 सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो। जितका लागि २० बल बाँकी छँदै लक्ष्य भेट्टाएको लुम्बिनीको जितमा निरोशन डिकवेला नायक बने। उनले ५१ बलमा अविजित ५९ रन बनाउँदै टोलीलाई फाइनलसम्म पुर्‍याए।लक्ष्य पछ्याउने क्रममा लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन।

पहिलो ओभरमै डार्सी शर्टलाई शून्य रनमा गुमाएको लुम्बिनीले तेस्रो ओभरमै आसिफ शेखको विकेट पनि गुमायो। शेखले ८ बलमा ४ रन मात्रै बनाउन सके। तर, त्यसपछि क्रिजमा आएका डिकवेलाले आक्रामक ब्याटिङ गर्दै खेलको दिशा बदले।

उनले तेस्रो ओभरमै लगातार तीन चौका र एक छक्का प्रहार गरेर सुदूरपश्चिमका बलरमाथि दबाब सिर्जना गरे। कप्तान रोहित पौडेलसँग मिलेर उनले इनिङ्स सम्हाले। रोहितले २८ बलमा २१ रन बनाए। सन्दीप जोराले ८ रनको योगदान दिए।

बलिङमा सुदूरपश्चिमका थरिन्दु रत्नायकेले दुई विकेट लिए भने हेमन्त धामी र स्कट कुगलेइनले एक–एक विकेट हात पारे।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सकेको थियो।

 सुदूरपश्चिमको सुरुवात यति निराशाजनक रह्यो कि पहिलो ओभरको पहिलो बलमै स्कटिस खेलाडी जर्ज मन्से गोल्डेन डकमा आउट भए। रुबेन ट्रम्पलमानले उनलाई पहिलो बलमै पभेलियन फर्काउँदै लुम्बिनीलाई उत्कृष्ट सुरुवात दिलाए। त्यसपछि पनि सुदूरपश्चिमको ब्याटिङ लयमा आउन सकेन।

थनुका दबारेलाई ३ रनमा गुमाएको टोलीले पावरप्लेमा ३ विकेट गुमाएर २० रन मात्रै जोड्यो। १० ओभरको खेल सकिँदासम्म टोलीको खातामा ४० रन मात्रै थियो। ईशान पाण्डे र दीपेन्द्र सिंह ऐरीले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे।

पाण्डेले ३३ बलमा २७ रन बनाएर आउट भए। अर्कोतर्फ दीपेन्द्रले एक्लै संघर्ष गर्दै ५१ बलमा ५२ रनको अर्धशतकीय पारी खेले। तर, उनलाई अन्य ब्याटरबाट पर्याप्त साथ मिलेन।दीपेन्द्र र पाण्डेबाहेक सुदूरपश्चिमका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

 फलस्वरूप टोली १०५ रनमै सीमित भयो। लुम्बिनीका बलरमध्ये रुबेन ट्रम्पलमान र शेर मल्लले दुई–दुई विकेट लिए भने अभिशेष गौतम र किशोर महतोले एक–एक विकेट हात पारे। यस जितसँगै साविक विजेता लुम्बिनीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको छ।

पराजित सुदूरपश्चिमको उपाधि यात्रामा भने पूर्णविराम लागेको छैन। उसले अब एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्दै फाइनल प्रवेशको अर्को अवसर पाउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0