बझाङ अटो दुर्घटना: अपडेट मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक प्रहरी नियन्त्रणमा
ईर्साद अन्सारी
३० कातिक,बारा । बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा अटो रिक्सा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा ज्यान गुमाउनेमध्ये एक जना चार वर्षीया बालिका रहेकी छन्।
प्रहरीले अटो चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सोमबार बिहान १०ः२० बजेतिर टुमेडा गाउँबाट बुङ्गल नगरपालिका–११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ७९९८ नम्बरको अटो ब्रेक फेल भएर सडकबाट करिब ९०० मिटर तल भिरमा खसेको थियो।
अटोमा चालकसहित ६ जना सवार रहेको खुलेको छ। दुर्घटनापछि घटनास्थलमा तीन जनाको शव फेला परेको थियो। थप खोजी तथा उद्धारका क्रममा बुङ्गल नगरपालिका–१० निवासी चार वर्षीया रियास महराको शवसमेत फेला परेपछि मृत्यु हुनेको संख्या चार पुगेको प्रहरीले जनाएको छ।
दुर्घटनामा मृत्यु हुनेमा बुङ्गल नगरपालिका–१० की ३५/४० वर्षीया राजमति महरा, १५/१६ वर्षीया तारा महरा, ५/६ वर्षीया डल्ली महरा र करिब चार वर्षीया रियास महरा रहेका छन्। अटोमा सवार सोही ठाउँका १२/१३ वर्षीय विक्रम महरा भने सकुशल घरतर्फ गएको बुझिएको प्रहरीले जनाएको छ।
दुर्घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट पुतलीलेक, इलाका प्रहरी कार्यालय बुङ्गल र जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली घटनास्थल पुगेर खोज तथा उद्धार गरेको थियो।
दुर्घटनामा संलग्न अटो चालक बुङ्गल नगरपालिका–११ निवासी २५ वर्षीय टेकबहादुर पातलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0