पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा : ठूलो संख्यामा ल्यापटप र मोबाइलसहित ३६ चिनियाँ नागरिक पक्राउ
१ मंसिर,काठमाण्डाैं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।
रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चाेकका अनुसार मंगबार दिउँसो करिब ३ बजे प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमाण्डमा खटिएको ३० जनाको संयुक्त टोलीले उक्त रिसोर्टमा चेकजाँच गरेको थियो।
प्रहरी चौकी पाँचखालबाट करिब ३ किलोमिटर पूर्वमा पर्ने उक्त रिसोर्टमा चेकजाँचका क्रममा ३१ जना पुरुष र ५ जना महिला गरी कुल ३६ जना चिनियाँ नागरिक फेला परेका थिए। प्रहरीले रिसोर्टका दुईवटा कोठाबाट ठूलो संख्यामा ल्यापटप तथा मोबाइल फोनहरूसमेत बरामद गरेको छ।
पक्राउ परेका सबै चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा राखिएको छ।
नियन्त्रणमा लिइएका विदेशी नागरिकहरूको संदिग्ध गतिविधि तथा रिसोर्टबाट बरामद भएका विद्युतीय उपकरणहरूको प्रयोजनबारे विस्तृत अनुसन्धान भइरहेको र अनुसन्धानपछि मात्र थप विवरण खुल्ने प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0