जनकपुरबाट काठमाडौं जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना, १४ जना घाइते
१ मंसिर,बारा। जनकपुरबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।
बीपी राजमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–७ पलासेस्थित अधेरी खोलाको बगरमा माइक्रोबस खस्दा त्यसमा सवार सबै १४ जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार मंगबालर दिउँसो २ बजे जनकपुरबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खोलाको बगरमा खसेको थियो ।
दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल पठाइएको छ । घाइतेमध्ये ९ जनाको पहिचान खुलेको छ भने अन्य ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
पहिचान खुलेका घाइतेमध्ये धनुषाको शहीदनगर नगरपालिका–८ का माइक्रोबस चालक दीपक कुमार दास, शहीदनगर–७ की १७ वर्षीया रानी कुमारी मण्डल, शहीदनगर–२ का १४ वर्षीय पियुष गोहित, १५ वर्षीय आयुष गोहित र १२ वर्षीया रुबी गोहित रहेका छन् ।
त्यसैगरी ललितपुरको भैँसेपाटीकी ३६ वर्षीया प्रियाङ्का साह र उनका छोरीहरू १६ वर्षीया जेनी साह, ११ वर्षीया सफलता साह तथा ३ वर्षीया ओमी साह पनि घाइते भएका छन् ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो ।बाँकी घाइतेहरूको पहिचान खुलाउने तथा दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0