दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई सन्तानको मृत्यु, ६ वर्षीय छोरा गम्भीर घाइते
ईर्साद अन्सारी
५ मंसिर,दैलेख। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमती र दुई सन्तानको हत्या गरेका छन्। बन्चरो प्रहारबाट अर्का एक छोरा गम्भीर घाइते भएका छन्।
घरायसी विवादका क्रममा ३८ वर्षीय अम्बर सलामी मगरले ३५ वर्षीया श्रीमती मनिषा सलामी मगर, १२ वर्षीय छोरा तपेन्द्र, ६ वर्षीय छोरा मिलन र ३ वर्षीया छोरी करिस्माको टाउकोमा बन्चरो प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते चारै जनालाई तत्काल नगर अस्पताल दुल्लु पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले जाँच गर्ने क्रममा बिहान ११:१० बजे १२ वर्षीय तपेन्द्र र ३ वर्षीया करिस्मालाई मृत घोषणा गरेका थिए। दुल्लु अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रदेश अस्पताल कालागाउँ, सुर्खेत रेफर गरिएका मनिषा र ६ वर्षीय छोरा मिलनलाई दिउँसो २ बजे सुर्खेत अस्पताल पुर्याइएको थियो।
उपचारका क्रममा दिउँसो २:१० बजे मनिषाको मृत्यु भएको प्रहरीले जनाएको छ।गम्भीर घाइते ६ वर्षीय मिलनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।
प्रहरी चौकी हाँडाकोटबाट करिब ३ किलोमिटर दूरीमा रहेको घटनास्थलमा जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कँडेलको कमान्डमा पाँच जनाको प्रहरी टोली खटिएको थियो।
श्रीमती र सन्तानमाथि बन्चरो प्रहार गर्ने अम्बर सलामी मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0