एमालेको राष्ट्रिय भेला सुरु हुँदै, ३ हजार ४१४ प्रतिनिधि सहभागी
ईर्सााद अन्सारी
२ मंसिर,काठमाडौं । नेकपा (एमाले)को राष्ट्रिय भेला केहीबेरमा काठमाडौंको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा उद्घाटन हुँदैछ।
भेलामा सहभागी हुन देशभरबाट आएका ३ हजार ४१४ प्रतिनिधि भेलास्थलमा जम्मा भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली उद्घाटन समारोहस्थलमा पुगिसकेका छन्। अहिले सहभागीहरूको हाजिरी तथा परिचयपत्र वितरण भइरहेको छ।
भेलामा पुराना वामपन्थी नेताहरू मोहनचन्द्र अधिकारी, वाचस्पति देवकोटा, हरिचरण सिवाकोटी र विजयलाल श्रेष्ठ पनि सहभागी भएका छन्। विजयलाल श्रेष्ठ नेकपाका संस्थापक महासचिव पुष्पलालका भाइ हुन्। राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिनुका साथै आगामी स्थानीय तहको निर्वाचनको पूर्वतयारी गर्ने उद्देश्यले एमालेले राष्ट्रिय भेला आयोजना गरेको हो।
पार्टी जीवनमा स्थानीय कमिटीदेखि केन्द्रीय कमिटी, संसद् तथा पालिकासम्मका जनप्रतिनिधिलाई एकै ठाउँमा सहभागी गराइएको यो पहिलो भेला भएको एमालेले जनाएको छ।२०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मुलुकमा उत्पन्न राजनीतिक परिस्थितिबारे भेलामा छलफल हुने बताइएको छ।
भेलाले पार्टीको आगामी राजनीतिक कार्यदिशा, स्थानीय तहको निर्वाचनको तयारी तथा राजनीतिक लाइनमा एकरूपता कायम गर्ने विषयमा छलफल गर्दै नेता–कार्यकर्तालाई प्रशिक्षण र नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ। गत असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकका निर्णय कार्यान्वयनमा एकरूपता ल्याउने तथा पार्टीले गर्नुपर्ने १५ वटा कामको जिम्मेवारी र कार्यसम्पादनका विषयमा पनि भेलामा छलफल हुने कार्यक्रम छ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका पदाधिकारी, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी छन्।भेलाको अध्यक्ष ओलीले उद्घाटनसहित विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसैगरी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्बोधन गर्नेछिन्। पार्टीमा औपचारिक पुनरागमनपछि भण्डारीको यो पहिलो विशेष सम्बोधन हुने बताइएको छ। भेलामा एमालेका उपाध्यक्षद्वय रामबहादुर थापा 'बादल' र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0