एनपीएलसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा अनलाइन सट्टेबाजी गराउने पाँच जना पक्राउ
५ मंसिर,काठमाण्डाैं । नेपाल प्रिमियर लिग (NPL) सहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् ।
लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजबाट उनीहरूलाई पक्राउ गरिएको हो । सुक्रबार साँझ करिब ७ः३० बजे होटलको तेस्रो तलामा रहेका कोठा नम्बर २०३ र २०४ भाडामा लिएर अनलाइन सट्टेबाजीका प्लेटफर्म सञ्चालन भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा ‘Kush 777’ लगायतका अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार गरिरहेको अवस्थामा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा एक जना नेपाली र चार जना भारतीय नागरिक रहेका छन् । उनीहरूले सट्टेबाजीको कारोबारमा प्रयोग गरेका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरणसमेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमही, दाङमा राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0