५३ करोडभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका गुलसन श्रीवास्तव वीरगञ्जबाट पक्राउ
२ मंसिर,बारा । राजस्व चुहावटसम्बन्धी मुद्दामा ५३ करोड रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा श्रीवास्तवलाई मंगलबार वीरगञ्ज महानगरपालिका–१६, नगुवाबाट पक्राउ गरेको हो।
रौतहटको साविक जयनगर गाविस–४ (हाल गरुडा नगरपालिका–१) निवासी ३३ वर्षीय श्रीवास्तव विभिन्न पाँचवटा कम्पनीका प्रोप्राइटर रहेको प्रहरीको प्रेस विज्ञप्तिमा उल्लेख छ।
श्रीवास्तवविरुद्ध संग्रिला ट्रेड एण्ड सप्लायर्स, प्रिन्स इन्टरनेशनल, मयंक इन्टरप्राइजेज, शुभलक्ष्मी इन्टरनेशनल र न्यू महादेव इन्टरनेशनलमार्फत झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको आरोपमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर भएको थियो।
राजस्व अनुसन्धान विभागको प्रतिवेदन तथा जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको उक्त मुद्दामा उच्च अदालत पाटनले २०८१ वैशाख २४ गते श्रीवास्तवलाई ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष कैद सजाय हुने फैसला गरेको थियो।
अदालतको फैसला कार्यान्वयन नभई फरार रहेका उनलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको सीआईबीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0