सरकार स्वेच्छाचारी बन्यो, संसद्मा सशक्त प्रतिवाद गर्न कांग्रेस महामन्त्री पौडेलको माग
ईर्साद अन्सारी
१६ कातिक,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले वर्तमान सरकारले संविधान र कानुनको बेवास्ता गर्दै सत्ताको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।
सरकारको कार्यशैली स्वेच्छाचारी बन्दै गएको भन्दै उनले सरकारका गलत कदमविरुद्ध संसद्मा सशक्त रूपमा आवाज उठाउनुपर्ने बताएका छन्। सोमबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राख्दै पौडेलले प्रतिपक्षी दल, संसद्, जनता र सञ्चारमाध्यममाथि सरकारको हेपाहा प्रवृत्ति बढेको टिप्पणी गरेका थिए।
कानुनी व्यवस्थालाई कमजोर बनाएर राज्यका संवैधानिक अंगहरूसमेत प्रभावित पार्ने काम भइरहेको उनको आरोप थियो। सरकारका गतिविधिको प्रतिवाद गर्न अन्य प्रतिपक्षी दलहरूसँग समेत सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका थिए।
त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक तत्काल बोलाउन कांग्रेसले माग गर्नुपर्ने र संसद्लाई प्रभावकारी बनाएर सरकारका कामकारबाहीमाथि प्रश्न उठाउनुपर्ने उनको धारणा थियो। बैठकमा पौडेलले अदालतसँग जोडिएको भनिएको ‘सेटिङ प्रकरण’को निष्पक्ष छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसमेत गरेका थिए।
विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी नेतृत्वको नाम जोडिएको विषय गम्भीर रहेको उल्लेख गर्दै उनले सरकारले नै निष्पक्ष छानबिन गर्छ भन्ने विश्वास गर्न नसकिने बताएका थिए। कांग्रेस संसदीय दलको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमा सिर्जना गरिएको त्रास तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल भइरहेको छ।
प्रमुख सचेतक बासना थापाका अनुसार बैठकमा यी विषयहरू छलफलको कार्यसूचीमा छन्। महामन्त्री पौडेलले आफ्नो धारणा राखेर बैठकस्थलबाट बाहिरिए पनि संसदीय दलको बैठक भने जारी रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0