सञ्चार क्षेत्रमा प्रहरी हस्तक्षेपको रास्वपाद्वारा आपत्ति, छानबिन गरी कारबाही गर्न सरकारसँग माग

Oct 31, 2026 - 21:11
 0  7
सञ्चार क्षेत्रमा प्रहरी हस्तक्षेपको रास्वपाद्वारा आपत्ति, छानबिन गरी कारबाही गर्न सरकारसँग माग

१४ कातिक,काठमाडौं, १४ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चार क्षेत्रमा प्रहरी प्रशासनमार्फत भएको भनिएको गतिविधिप्रति आपत्ति जनाउँदै गैरजिम्मेवार आदेश दिने व्यक्तिको पहिचान गरी छानबिन गर्न र कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

 पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा शनिबार केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि कुनै सम्झौता नगर्ने स्पष्ट पार्दै सञ्चार क्षेत्रमा भएका गतिविधि संविधान र पार्टीको मूल आदर्शविपरीत रहेको निष्कर्ष निकालेको हो।

बैठकपछि पार्टी प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा लोकतान्त्रिक प्रणाली, बहुलवाद, संविधानप्रदत्त नागरिक अधिकार तथा पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा पार्टी दृढ रहेको उल्लेख गरिएको छ।

 विज्ञप्तिमा कार्तिक १३ गते प्रहरी प्रशासनमार्फत भएका भनिएका गतिविधिको जिम्मेवार व्यक्तिको अविलम्ब पहिचान र छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन दिइएको जनाइएको छ।

बैठकले न्यायालयभित्र देखिएका गम्भीर विचलन र अनुचित साँठगाँठका घटनाप्रति पनि चासो व्यक्त गरेको छ। कतिपय न्यायाधीशसमेत मुछिएका घटनाले न्यायालयको निष्पक्षता, तटस्थता र गरिमामाथि प्रश्न उठाएको भन्दै रास्वपाले न्यायालय शुद्धीकरणका लागि संसद्बाटै निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको छ।

त्यसैगरी मधेस प्रदेशमा पार्टी संगठनलाई थप चुस्त, सुदृढ र गतिशील बनाउन सहमहामन्त्री हरि ढकाल नेतृत्वको समितिले तयार पारेको ‘मधेस प्रदेश संगठन अडिट प्रतिवेदन, २०८३’ अध्ययनका लागि सचिवालयलाई जिम्मेवारी दिने निर्णय गरेको छ।

प्रतिवेदनका सिफारिस औचित्य र आवश्यकताका आधारमा कार्यान्वयनमा लैजाने पनि बैठकले निर्णय गरेको छ। यसैबीच चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणालाई स्वीकार गर्दै महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा रास्वपाको प्रतिनिधिमण्डल कार्तिकको अन्तिम साता चीन भ्रमणमा जाने निर्णयसमेत बैठकले गरेको प्रवक्ता खरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

भ्रमणको उद्देश्य पारस्परिक राजनीतिक संवाद र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0