जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्जका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
ईर्साद अन्सारौ
२ मंसिर । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वीरगञ्ज, पर्सामा कार्यरत दुई कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर गरिएका कर्मचारीमा कार्यालयका अधिकृत छैटौँ (प्राविधिक) गजेन्द्रप्रसाद जायसवाल र विक्की यादव रहेका छन्।
अख्तियारका अनुसार उनीहरूले जलस्रोतको पुनर्भरण तथा भण्डारणसम्बन्धी योजनाअन्तर्गत सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारको भुक्तानी दिने तथा धरौटी रकम फिर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरी लिएको आरोप छ।
उक्त कार्य भ्रष्टाचारजन्य कसुर भएको ठहर गर्दै आयोगले दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरेको जनाएको छ।आयोगले दुवै कर्मचारीको कसुरमा ३ लाख ४५ हजार रुपैयाँ बिगो कायम गरेको छ।
साथै, बिगोबमोजिम जरिवाना र कानुनअनुसार कैद सजाय हुन मागदाबी गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0