वर्षा र बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, बीपी र टोखा-छहरेमा राति सवारी चलाउन रोक

Sep 1, 2026 - 09:58
 0  5
वर्षा र बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित, बीपी र टोखा-छहरेमा राति सवारी चलाउन रोक

१६,भदाै,काठमाडौं । वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

नेपाल प्रहरीले सडकको अवस्था र सम्भावित जोखिमलाई मध्यनजर गर्दै केही सडकखण्डमा आवागमन रोक्नुका साथै केही स्थानमा वैकल्पिक मार्ग प्रयोग गर्ने व्यवस्था मिलाएको जनाएको छ। रसुवामा बाढीले सडक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

 उत्तरगया गाउँपालिका–५, खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि अवरुद्ध भएको हो। त्यसपछि आएको बाढीले सडकको अधिकांश भाग नष्ट गरेको प्रहरीले जनाएको छ। त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म पुग्ने मुख्य पासाङ ल्हामु राजमार्ग पनि त्रिशूली नदी किनारको अधिकांश भाग कटान भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

प्रहरीले स्याफ्रुबेंसीसम्म पुग्न काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे–स्याफ्रुबेंसी हुँदै जाने सिंगल लेनको कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाएको छ।

धादिङमा पृथ्वी लोकमार्गका दुई स्थानमा सडक अवरुद्ध भएको छ। बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा त्रिशूली नदीले सडक कटान गर्दा सडक भासिएको छ। सो स्थानमा पैदल यात्रुसमेत आवतजावत गर्न नसक्ने अवस्था रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, गजुरी गाउँपालिका–२ स्थित परेवाभीरमा बाढीका कारण सडकको तल्लो भाग भासिएपछि सडकखण्ड अवरुद्ध भएको छ। ललितपुरको कान्ति लोकपथ पनि पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ। बागमती गाउँपालिका–३, भट्टेडाँडास्थित पाङदुरमा वर्षाका कारण माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैबीच, बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ।

 सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नभएसम्म आवागमन रोकिएको हो। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने प्रहरीले जनाएको छ। मकवानपुरमा पनि सवारी साधनका लागि छुट्टाछुट्टै मार्ग तोकिएको छ। १० चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारी साधनलाई काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था गरिएको छ।

कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुबाहक सवारी साधनले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्ने प्रहरीले जनाएको छ। त्यस्तै, १४ सिटभन्दा कम क्षमताका साना यात्रुबाहक सवारी साधनलाई हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक प्रयोग गर्न भनिएको छ।

मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको भन्दै इन्धन तथा भारी मालबाहक सवारी साधनलाई पुल प्रयोग नगरी छेउमा रहेको डाइभर्सनबाट आवतजावत गर्न प्रहरीले आग्रह गरेको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा पनि रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।

 अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारी साधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यता, इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९, राजदुवालीमा वर्षाका कारण सडक हिलो हुँदा केही समय सवारी आवागमन प्रभावित भए पनि अहिले साना सवारी साधनका लागि सडक पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

 प्रहरीले विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, राजमार्गमा पालोअनुसार सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ। साथै ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी तथा ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्नसमेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0