नयाँदिल्लीमा प्रधानमन्त्री शाहलाई मोदीको न्यानो स्वागत, द्विपक्षीय वार्तामा रेल र मोटरेबल पुल मुख्य एजेन्डा
७ मंसिर,काठमाण्डमैं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसमा अंकमाल गर्दै न्यानो स्वागत गरेका छन्।
स्वागत समारोहपछि दुवै प्रधानमन्त्रीलाई राष्ट्रपति भवन परिसरमा 'गार्ड अफ अनर' प्रदान गरिएको थियो। रोचक पक्ष के छ भने, भारत प्रस्थान गर्ने क्रममा प्रधानमन्त्री शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने गार्ड अफ अनर लिएका थिएनन्।
स्वागत औपचारिकतापछि बिहान ११ बजेदेखि दुवै देशका प्रधानमन्त्रीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता सुरु हुँदैछ। वार्तामा दुई देशबीचको ऐतिहासिक सम्बन्ध, आपसी सहयोग र सीमापार पूर्वाधार विकासका विषयमा गहन छलफल हुने कार्यक्रम छ।
विशेषगरी भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालन गर्ने तथा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल निर्माण गर्ने विषयलाई वार्ताको मुख्य एजेन्डा बनाइएको छ।
द्विपक्षीय वार्ता सकिएलगत्तै दुवै प्रधानमन्त्रीले विभिन्न विकास परियोजनाहरूको भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन्। सोही समारोहमा नेपाल र भारतबीच विभिन्न समझदारीपत्र (एमओयू) तथा सम्झौतापत्र आदानप्रदान हुने र दुवै नेताले संयुक्त प्रेस वक्तव्य जारी गर्ने कार्यतालिका रहेको छ।
औपचारिक वार्ता र सम्झौतापछि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्। दिवाभोजपश्चात् प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
भारत भ्रमणका सबै औपचारिक कार्यक्रमहरू सम्पन्न गरी प्रधानमन्त्री शाह सोमबार अपराह्न ४:५० बजे नयाँदिल्लीबाट स्वदेश प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0