रियाद लक्षित गर्दै हुथी विद्रोहीले प्रहार गरे दुई ब्यालिस्टिक मिसाइल, साउदीको हवाई प्रतिरक्षाद्वारा नष्ट
२२ कातिक,काठमाण्डाैं । यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादलाई लक्षित गर्दै दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेका छन् ।
साउदी अरबको हवाई प्रतिरक्षा प्रणालीले दुवै मिसाइल आकाशमै नष्ट गरेको साउदी नेतृत्वको सैन्य गठबन्धनले जनाएको छ । आइतबार (नोभेम्बर ८) बिहान रियादमा विस्फोटको आवाज सुनिएपछि साउदी नागरिक सुरक्षा निकायले सम्भावित खतराबारे चेतावनी जारी गरेको थियो ।
केही समयपछि खतरा टरेको भन्दै चेतावनी हटाइएको थियो । सैन्य गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल मलिकीका अनुसार हुथी विद्रोहीले रियादतर्फ प्रहार गरेका दुई ब्यालिस्टिक मिसाइललाई हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको हो ।
यसअघि साउदी अरबको पूर्वी प्रान्ततर्फ प्रहार गरिएको अर्को ब्यालिस्टिक मिसाइल पनि नष्ट गरिएको उनले बताएका छन् । यसैबीच रियाद र साउदी अरबको दक्षिणी क्षेत्रमा लक्षित दुईवटा क्रुज मिसाइलसमेत नष्ट गरिएको गठबन्धनले जनाएको छ ।
मिसाइल अवरोध गर्ने क्रममा खसेका टुक्राले रियादस्थित सरकारी तेल कम्पनी साउदी अराम्कोको प्रशासनिक भवनमा क्षति पुर्याएको साउदी ऊर्जा मन्त्रालयले जनाएको छ ।
भवनमा सामान्य क्षति पुगे पनि मानवीय क्षति नभएको मन्त्रालयको भनाइ छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार भवनका केही तलाका झ्यालहरू फुटेका छन् ।
घटनाबारे हुथी विद्रोहीले तत्काल औपचारिक प्रतिक्रिया दिएका छैनन् । साउदी अरब र यमनका हुथी विद्रोहीबीच पछिल्लो समय सैन्य तनाव बढ्दै गएको छ । सन् २०२२ मा भएको युद्धविराम भंग भएपछि दुवै पक्षबीच पुनः आक्रमण र प्रत्याक्रमणका घटना बढेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0