भारतबाट मधेश हुँदै काठमाडौंसम्म हेरोइन तस्करी गर्ने गिरोहका ९ जना पक्राउ
ईर्साद अन्सारी
६ मंसिर । भारतबाट मधेश प्रदेशका विभिन्न जिल्ला हुँदै काठमाडौं उपत्यकासम्म लागुऔषध खैरो हेरोइन ल्याएर बिक्री गर्ने गिरोहको नेटवर्क तोड्ने क्रममा ९ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले सञ्चालन गरेको विशेष कारबाहीका क्रममा उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा सिन्धुली जिल्लाबाट पक्राउ गरेको हो।
ब्यूरोका अनुसार मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन गरिएको कारबाहीमा ३९४.१० ग्राम खैरो हेरोइन, नगद २ लाख ५४ हजार रुपैयाँ, लागुऔषध तौल गर्ने दुई थान डिजिटल तराजु र नौ थान मोबाइल बरामद गरिएको छ।
प्रहरीले उपत्यकामा लागुऔषध बिक्री गर्दै आएका मुख्य व्यक्ति तथा भारतबाट मधेश प्रदेशका धनुषा र सिराहा हुँदै काठमाडौंसम्म लागुऔषध आपूर्ति गराउने मुख्य व्यक्तिसहित गिरोहमा संलग्न रहेको आरोपमा ९ जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुरका ४२ वर्षीय रञ्जन थापा, सिन्धुली कमलामाईका ३४ वर्षीय देवराज बम्जन, २२ वर्षीय निशान बम्जन र ३२ वर्षीय विशाल मोक्तान रहेका छन्।
त्यस्तै काठमाडौं चन्द्रागिरिका ३५ वर्षीय पदमबहादुर तिमिल्सिना, धनुषा क्षिरेश्वरनाथका ५५ वर्षीय लक्ष्मण पण्डित दास तत्मा, तनहुँ भानुका २८ वर्षीय शैलेन्द्र बजगाईँ, गोरखा शहीद लखनका २५ वर्षीय सिजन रेग्मी र सिराहा नवराजपुरका २९ वर्षीय विवेककुमार साह पनि पक्राउ परेका छन्।
ब्यूरोले लागुऔषध कारोबार हुन सक्ने जोखिमयुक्त स्थान र शंकास्पद व्यक्तिहरूको गतिविधिको निगरानी तथा संकलित सूचनाको विश्लेषणपछि कारबाही सञ्चालन गरेको जनाएको छ।
पक्राउ परेका नौ जनामाथि बरामद लागुऔषध तथा अन्य सामग्रीका सम्बन्धमा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
1
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0