मोदी–बालेन भेटवार्तापछि नेपाललाई २ खर्ब ४० अर्बको विकास प्याकेज, ८ समझदारीपत्रमा हस्ताक्षर
७ मंसिर,काठमाण्डाैं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँदिल्लीस्थित हैदरावाद हाउसमा भएको उच्चस्तरीय द्विपक्षीय वार्तापछि नेपाल–भारतबीच विभिन्न महत्वपूर्ण सहमति र विकास परियोजनाको घोषणा भएको छ।
सोमबार भएको करिब १०० मिनेट लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको पुनर्निर्माण तथा दीर्घकालीन विकासका लागि २४ हजार करोड नेपाली रुपैयाँ अर्थात् २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहयोग प्याकेज घोषणा गरेका छन्।
गत अगस्टमा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको पुनर्निर्माण, पूर्वाधार विकास र विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा उक्त प्याकेज केन्द्रित रहने मोदीले बताएका छन्। भ्रमणका क्रममा दुवै देशबीच स्वास्थ्य, परम्परागत चिकित्सा पद्धति, भूउपग्रह सञ्चार, सुरक्षा तथा अनुसन्धान, निजामती कर्मचारीको क्षमता अभिवृद्धि, दिगो सहरी विकास, पशुपालन तथा मत्स्य विकासलगायतका क्षेत्रमा ८ वटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्।
समझदारीअनुसार भारतको अन्तरिक्ष अनुसन्धान संस्था इसरो र नेपालको सम्बन्धित मन्त्रालयबीच दक्षिण एसिया भूउपग्रहको उपयोग गर्दै भूउपग्रह सञ्चार सञ्जाल स्थापना गर्ने सहमति भएको छ। त्यस्तै, नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र भारतको राष्ट्रिय न्यायिक विज्ञान विश्वविद्यालयबीच अनुसन्धान तथा शैक्षिक सहकार्य गर्ने सहमति भएको छ।
यसैगरी, भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी प्रतिष्ठानबीच पनि सहकार्य हुने भएको छ। निजामती कर्मचारीको क्षमता अभिवृद्धिका लागि भारतको नेसनल सेन्टर फर गुड गभर्नेन्स र नेपालको प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबीच समझदारी भएको छ।
भ्रमणका क्रममा दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा विभिन्न पूर्वाधार तथा ऊर्जा परियोजनाको उद्घाटन र शिलान्याससमेत गरेका छन्। भारतको उत्तर प्रदेशस्थित अयोध्यालाई नेपालको जनकपुरधामसँग जोड्ने सरयू–कमला एक्सप्रेस रेलसेवाको भर्चुअल रूपमा शुभारम्भ गरिएको छ।
करिब ६०४ किलोमिटर दूरीको उक्त रेलसेवाले दुई धार्मिक तथा सांस्कृतिक क्षेत्रलाई प्रत्यक्ष जोड्नेछ। रेलसेवा आगामी नोभेम्बर २८ देखि नियमित रूपमा सातामा एकपटक सञ्चालन हुने जनाइएको छ। यात्राका लागि करिब १९ घण्टा लाग्नेछ।त्यस्तै, नेपाल–भारत सीमामा पर्ने दार्चुला र भारतको धार्चुला जोड्ने महाकाली नदीमाथिको मोटरेबल पुलको उद्घाटन गरिएको छ।
भारतको उत्तराखण्डस्थित बनबासा नाकामा एकीकृत जाँच चौकी निर्माणको शिलान्याससमेत गरिएको छ। ऊर्जा तथा पेट्रोलियम पूर्वाधारतर्फ ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ। झापाको चारआलीमा सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइनसँग सम्बन्धित पूर्वाधार तथा पेट्रोलियम भण्डारण टर्मिनल निर्माणको प्रक्रिया अघि बढाइएको छ।
यसैगरी, मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन गरिएको छ। यसले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण व्यवस्थालाई थप सहज बनाउने अपेक्षा गरिएको छ। संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्ध पारस्परिक सम्मान, विश्वास र सद्भावमा आधारित रहेको बताए।
उनले दुई देशबीचको सम्बन्धलाई हिमालजस्तै अटल र महासागरजस्तै विशाल रहेको उल्लेख गर्दै आगामी दिनमा आर्थिक विकास, ऊर्जा, व्यापार, पूर्वाधार तथा जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए।प्रधानमन्त्री शाहले नेपालमा लगानीका सम्भावना रहेको उल्लेख गर्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्नसमेत आग्रह गरेका छन्।
उनले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणासमेत दिएका छन्। यसअघि सोमबार बिहान प्रधानमन्त्री शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवन परिसरमा औपचारिक स्वागत गरिएको थियो। भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा उनलाई गार्ड अफ अनर प्रदान गरिएको थियो।
त्यसपछि उनले राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए। नेपालका प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो।
दुईदिने भारतको राजकीय भ्रमणका क्रममा भएका सहमति र परियोजना घोषणाले नेपाल–भारतबीचको आर्थिक, पूर्वाधार, ऊर्जा तथा सांस्कृतिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0