नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको घोषणा

Nov 23, 2026 - 15:30
 0  5
नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्ने प्रधानमन्त्री शाहको घोषणा

७ मंसिर,काठमाण्डाैं  । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई नयाँ युगको आवश्यकताअनुसार रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्ने बताएका छन्।

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा सम्बोधन गर्दै आपसी विश्वास, सहकार्य र साझा समृद्धिमार्फत दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताएका हुन्।

 प्रधानमन्त्री शाहले नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल रहेको उल्लेख गर्दै पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नै दुई देशबीचको सम्बन्धको मूल आधार भएको बताए। उनले प्राकृतिक विपद् तथा कठिन परिस्थितिमा भारतले नेपाललाई अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएकोमा भारत सरकार र जनताप्रति आभार व्यक्त गरे।

द्विपक्षीय वार्ताका क्रममा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षमा गहन छलफल भएको जानकारी दिँदै शाहले विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी हुनुका साथै पूर्वाधारहरूको उद्घाटन तथा शिलान्याससमेत भएको बताए। आज भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानको खेतमा समृद्धि, युवाको हातमा रोजगारी, विद्यार्थीका लागि नयाँ अवसर र उद्यमीका लागि लगानी तथा बजार विस्तारका रूपमा देखिनुपर्नेमा उनले जोड दिए।

 जलवायु परिवर्तनको चुनौतीलाई सम्बोधन गर्न नेपाल र भारतबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले हिमालयबाट बग्ने नदीहरूले यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको बताए। जलस्रोतको संरक्षण र जलवायु परिवर्तनका चुनौती सामना गर्न दुवै देश मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो।

नेपाल र भारतबीच भगवान् राम र माता जानकीको समयदेखि ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्ध रहँदै आएको उल्लेख गर्दै शाहले यस सम्बन्धलाई थप जीवन्त बनाउन रेल सेवाको शुभारम्भ गरिएको बताए।

उनले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न स्वागत गर्दै नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने बताए। साथै, दुवै देशका नागरिकको सहज आवागमनका लागि सहरहरूबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए। 

प्रधानमन्त्री शाहले नेपाल र भारतको साझा आर्थिक समुन्नतिका लागि तयार गरिएको ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ र साझा उपलब्धिहरू समेटिएको ‘ज्वाइन्ट प्रेस रिलिज’ प्रस्तुत गरिने जानकारी पनि दिए।

सम्बोधनका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन्। साथै भारतीय नागरिकलाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकीको मन्दिर, जीवित देवी कुमारी र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नसमेत आग्रह गरे।

अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको मित्रतामा विश्वास हिमालझैँ अग्लो, सहकार्य नदीझैँ अविरल र दुवै राष्ट्रको समृद्धि साझा आकाशमुनि फक्रिने कामना व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0