खुला सीमाबाट लागुऔषध तस्करीको प्रयास, बाराका युवक भारतीय सुरक्षाकर्मीको फन्दामा
२ मंसिर,बारा । नेपाल–भारत सीमा क्षेत्रमा लागुऔषध ओसारपसारविरुद्ध भारतीय सुरक्षा निकायले निगरानी बढाइरहेका बेला बाराका एक युवक ब्राउन सुगरसहित भारतमा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–फुलवरिया निवासी २४ वर्षीय मनोहर सिंह रहेका छन्। उनी जय राम सिंहका छोरा हुन्। भारतीय सशस्त्र सीमा बल (एसएसबी) को टोलीले उनको साथबाट ७६.६६ ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
एसएसबीको ७१औँ बटालियनअन्तर्गत बीओपी बेल्दरवामठको टोलीले बिहार प्रहरी र आदापुरका प्रखण्ड विकास पदाधिकारी (बीडीओ) सँगको समन्वयमा संयुक्त गस्ती तथा चेकजाँच गर्ने क्रममा उनलाई हिजाे नियन्त्रणमा लिएको हो।
एसएसबी मुख्यालय पिपराकोठीका अनुसार मंगलबार प्राप्त विशेष सूचनापछि भारतको बिहारस्थित आदापुर थाना क्षेत्रको श्यामपुर गाउँनजिक सुरक्षा निगरानी कडा पारिएको थियो। सोही क्रममा नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८३/६ बाट करिब साढे चार किलोमिटर भारतीय भूमिभित्र उनलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो।
तलासी गर्दा प्लास्टिकको बोरामा राखिएको ७६.६६ ग्राम ब्राउन सुगर फेला परेको सुरक्षा टोलीले जनाएको छ। घटनास्थलबाट बीआर ०५ बीडी २९६७ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकलसमेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागुऔषध भारतको रामगढवाबाट नेपालको फुलवरियातर्फ लैजान खोजिएको आशंका गरिएको छ। पक्राउ परेका सिंहलाई बरामद लागुऔषध र मोटरसाइकलसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।
खुला सीमाको प्रयोग गरी सीमावर्ती क्षेत्रमा लागुऔषध ओसारपसारका गतिविधि भइरहेको यो घटनाले सीमा सुरक्षामा थप सतर्कता आवश्यक रहेको देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0