काठमाडौंमा चोरीका गरगहनासहित ३२ वर्षीय दीपेश डंगोल पक्राउ
२ मंसिर,काठमाण्डाे । काठमाडौंको जयबागेश्वरीस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ३२ वर्षीय दीपेश डंगोललाई पक्राउ गरेको छ।
काठमाडौं महानगरपालिका–८ जयबागेश्वरी निवासी डंगोललाई चोरीका गरगहना तथा विभिन्न सामग्रीसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मंसिर १ गते दिउँसो करिब २:३० बजे जयबागेश्वरीस्थित एक घरमा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले घटनास्थलमा पुगेर खोजतलास तथा अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानका क्रममा बागमती प्रदेश ०२–०३६ प ४९७५ नम्बरको स्कुटरमा सवार डंगोलको पहिचान खुलेपछि उनको घरकोठामा खानतलासी गरिएको प्रहरीले जनाएको छ।
खानतलासीका क्रममा चोरीका विभिन्न सामान फेला परेपछि उनलाई पक्राउ गरिएको हो।प्रहरीले उनको साथबाट पहेँलो रङको धातुका चुरा, सिक्री, लकेट, मुन्द्रा, औँठी, टप, नथिया, सिक्का लगायतका गरगहना बरामद गरेको छ।
त्यस्तै, चाँदीजस्तो देखिने २८ थान र अन्य विभिन्न आकारका सिक्का, गिलास, चम्चा, लोटा, पाउजु, मूर्ति, लकेट, कचौरा तथा अन्य सामग्री पनि बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका डंगोलको साथबाट १६ हजार ७१६ भारतीय रुपैयाँ र ४१ हजार नेपाली रुपैयाँ नगदसमेत बरामद भएको छ।
प्रहरीले चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0