स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित ठमेलबाट युवक पक्राउ
२८ भदाै,काठमाडौं । स्रोत नखुलेको ठूलो रकमसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौंको ठमेलबाट एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका–३ घर भई हाल काठमाडौंको ठमेल बस्दै आएका २० वर्षीय युवराज घतानी रहेका छन्।
प्रहरीका अनुसार भदौ २७ गते दिउँसो ३ः३० बजेको समयमा काठमाडौं महानगरपालिका–२६ ठमेलस्थित संचयकोष सडकखण्डमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा घतानीलाई नियन्त्रणमा लिएको हो।
केशरमहलबाट भीआईपी चोकतर्फ जाँदै गरेको बा.९७ प २६४४ नम्बरको स्कुटर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको नेपाली रुपैयाँ १३ लाख ७५ हजार फेला परेको प्रहरीले जनाएको छ।
रकमसहित नियन्त्रणमा लिइएका घतानीविरुद्ध हुण्डी कारोबारसम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0