सर्लाहीको बरहथवा नगर अस्पतालमा आगजनी र तोडफोड गर्ने चार जना पक्राउ
७ मंसिर,सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित नगर अस्पतालमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न अन्य दुई जना फरार रहेका छन्। प्रहरीका अनुसार आईतबार राति करिब ८ः३० बजे नौ महिनाकी गर्भवती बरहथवा नगरपालिका–५ हातिडण्डा पानिटंकी टोलकी २१ वर्षीया सीमा राम देवी उपचारका क्रममा अस्पतालमा बेहोस भएपछि उनका आफन्तले चिकित्सकको लापरबाहीका कारण यस्तो अवस्था आएको आरोप लगाउँदै अस्पतालको आकस्मिक (इमरजेन्सी) कक्षमा आगजनी तथा तोडफोड गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको थियो। बेहोस भएकी सीमालाई थप उपचारका लागि चन्द्रनिगाहपुर प्रा.लि. अस्पताल लगिएकोमा चिकित्सकले राति १०ः५३ बजे मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बरहथवा नगरपालिका–५ का ३३ वर्षीय राजेश कुमार महरा र २१ वर्षीय रोहन महरालाई पक्राउ गरेको छ।
त्यसैगरी रौतहटको गजुरा नगरपालिका–९ सिमराका ४२ वर्षीय भुसेनि महरा र २० वर्षीय राजन राम पनि पक्राउ परेका छन्।पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको भनिएका अस्पतालमा करारमा कार्यरत धिरज महरा र सुरेश महरा भने फरार रहेकाले उनीहरूको खोजी भइरहेको छ। आगजनी तथा तोडफोडबाट अस्पतालको आकस्मिक कक्षमा करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
घटनापछि अस्पतालमा सुरक्षा व्यवस्था कडा पारिएको र मंसिर ७ गते बिहान ६ः१५ बजेसम्म अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। गर्भवती महिलाको उपचारका क्रममा मृत्यु भएपछि उत्पन्न आक्रोशले अस्पतालमा आगजनी र तोडफोडको रूप लिएको यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0