छोरा हराएको खबर गर्न फोन गर्दा हवल्दारमाथि गालीगलौज, प्रहरीद्वारा छानबिन सुरु
५ मंसिर,बारा । छोरा हराएको जानकारी गराउन फोन गरेका प्रहरी हवल्दारमाथि गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ।
सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादवले आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको सञ्चार शाखामा फोन गरेका थिए।
सोही क्रममा सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोले आफूलाई सई बताउँदै ‘जय नेपाल’ नभनेको भन्दै यादवमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ।
घटनाको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्यतथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।
प्रदेश प्रहरी कार्यालयले प्रहरी आचरणविपरीतको भाषा प्रयोग भएको विषयमा दोषी देखिए प्रहरी नियमावलीअनुसार कारबाही गरी नतिजा पठाउनसमेत निर्देशन दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको र घटनाबारे यादवसँग पनि सोधपुछ गरिने बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0