सप्तरीमा बाख्रा चोरीको आरोप लगाउँदै व्यक्तिलाई कालोमोसो दलेर गाउँ घुमाएको आरोप, ३ जना पक्राउ
११ असाेज,राजविराज । सप्तरीमा बाख्रा चोरीको आरोप लगाउँदै एक व्यक्तिलाई जुत्ता–चप्पलको माला लगाएर, मुखमा कालोमोसो दली कुटपिट गर्दै गाउँ घुमाएको आरोपमा तीन जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पक्राउ पर्नेमा राजविराज नगरपालिका–१३ विषहरिया बस्ने ३५ वर्षीय लड्डु राम, ४२ वर्षीय ललित राम र ३५ वर्षीय रामनाथ राम रहेका छन्।
प्रहरीका अनुसार गत भदौ १० गते राजविराज–१३ स्थित मोही जग्गाको विषयमा रहेको रिसइबी साँध्न उनीहरूले पीडितलाई बाख्रा चोरी गरेको आरोप लगाएका थिए। त्यसपछि पीडितलाई विषहरियास्थित पुरानो कृषि कार्यालय रहेको स्थानमा लगेर जुत्ता–चप्पलको माला लगाइदिएको, मुखमा कालोमोसो दलेको र कुटपिटसमेत गरी गाउँमा घुमाएको आरोप छ।
घटनापछि फरार रहेका तीनै जनालाई प्रहरीले खोजतलास गर्ने क्रममा असोज ९ गते विषहरिया गाउँबाट फेला पारी पक्राउ गरेको हो।
उनीहरुविरुद्ध ‘अपमानजनक, अमानवीय व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट असोज ९ गतेदेखि लागू हुने गरी सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0