करिब दुई लाख विद्यार्थीको फर्जी विवरण बनाएर बजेट अपचलनको आशंका, छानबिन समिति गठन

Nov 5, 2026 - 22:41
 0  17
करिब दुई लाख विद्यार्थीको फर्जी विवरण बनाएर बजेट अपचलनको आशंका, छानबिन समिति गठन

१९ कातिक,काठमाडौँ । सामुदायिक विद्यालयमा करिब दुई लाख विद्यार्थीको फर्जी तथा दोहोरो विवरण राखेर राज्यकोषको रकम अपचलन गरिएको विषयमा सरकारले छानबिन गर्ने भएको छ।

 एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (IEMIS) मा वास्तविक विद्यार्थी संख्याभन्दा फरक र दोहोरो विवरण राखेर दिवा खाजा, छात्रवृत्ति, पाठ्यपुस्तक, पोसाक तथा प्रति विद्यार्थी लागत (PCG) अनुदानका नाममा जाने सरकारी बजेट दुरुपयोग भएको विषय अनुगमनका क्रममा पहिचान भएको जनाइएको छ।

 फर्जी र दोहोरो विवरण हटाउन शिक्षा विभागले यसअघि नै गत असोज २ गते सबै सामुदायिक विद्यालयलाई परिपत्र गर्दै असोज मसान्तभित्र विवरण सच्याउन निर्देशन दिएको थियो। तर, पटकपटक ताकेता गर्दा पनि निर्देशन पूर्ण रूपमा कार्यान्वयन नभएपछि सरकारले छानबिन समिति गठन गरेको हो।

बिहिबार मन्त्रीस्तरीय निर्णयबाट सहसचिव शिवकुमार सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। समितिले IEMIS प्रणालीमा रहेका दोहोरो तथा फर्जी विवरणको सूक्ष्म छानबिन गर्नुका साथै शंकास्पद विद्यालयमा पुगेर स्थलगत अध्ययन गर्नेछ।

समितिलाई १५ दिनभित्र यथार्थ विवरणसहित कारबाहीको सिफारिस पेस गर्ने जिम्मेवारी दिइएको छ। गलत विवरण प्रविष्ट गरी राज्यकोषको बजेट दुरुपयोग गर्ने वा त्यसमा सहयोग गर्ने प्रधानाध्यापक, IEMIS फोकल पर्सन तथा जिम्मेवार कर्मचारीलाई कानुनबमोजिम कारबाही गरिने जनाइएको छ।

 फर्जी तथ्याङ्कका आधारमा संगठित रूपमा आर्थिक अपचलन तथा भ्रष्टाचार भएको पाइएमा थप अनुसन्धान गरी दोषीलाई हदैसम्मको कानुनी कारबाही अघि बढाइने सरकारको भनाइ छ।

सरकारले वास्तविक विद्यार्थीको अधिकार सुनिश्चित गर्दै फर्जी विवरणका आधारमा हुने आर्थिक अनियमितता रोक्ने प्रतिबद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0