सिन्धुलीमा अटो दुर्घटना : गर्भवती महिलासहित ७ जना घाइते, पाँचको अवस्था गम्भीर

Nov 7, 2026 - 15:37
 0  14
सिन्धुलीमा अटो दुर्घटना : गर्भवती महिलासहित ७ जना घाइते, पाँचको अवस्था गम्भीर

२१ कातिक,सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् ।

घाइतेमध्ये एक गर्भवती महिलासहित पाँच जनाको अवस्था गम्भीर रहेको छ । सनिबार  दिउँसो करिब १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु.प्र.०१–००१ स ८१४० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा अटो चालक मकवानपुरको बागमती गाउँपालिका–१ निवासी ४० वर्षीय गंगा घिसिङ मध्यम घाइते भएका छन् ।, नामथर र वतन नखुलेकी अन्दाजी ३२/३३ वर्षीया गर्भवती महिला, बागमती गाउँपालिका–१ निवासी १९ वर्षीया कान्छीमाया पहरी, उनकी ३ वर्षीया छोरी समीक्षा पहरी, सोही स्थानका ९ वर्षीय प्रवास पहरी र ७ वर्षीया स्वस्तिका पहरी गम्भीर घाइते भएका छन् ।

 त्यसैगरी सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ ककरे निवासी ६० वर्षीया पातलीमाया भोलन पनि गम्भीर घाइते भएकी छन् । ९ वर्षीय प्रवास पहरीको निधार र अनुहारमा चोट लागेको तथा उनी बोल्न नसक्ने अवस्थामा रहेको जनाइएको छ ।

 दुर्घटनामा घाइते भएका सबै सातै जनालाई उपचारका लागि मकवानपुरतर्फ पठाइएको छ । घटनाबारे जानकारी पाएपछि प्रहरी चौकी हरिहरपुरगढीबाट प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ । दुर्घटनाग्रस्त अटो भने घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0