सरकार र रास्वपाबीच बढ्दै असहजता: लामिछानेको प्रश्न र प्रधानमन्त्री बालेनको कडा स्टाटस
१९ कातिक,काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका पछिल्ला अभिव्यक्तिले सरकार र पार्टीबीचको सम्बन्धमा असहजता बढ्दै गएको संकेत गरेकाे छ।
सरकारका निर्णयप्रति पार्टीले प्रश्न उठाउने र पार्टीका धारणासँग सरकारले पनि सबै विषयमा सहमति जनाउन नसक्ने अवस्था सार्वजनिक अभिव्यक्तिमै देखिन थालेको छ।
रास्वपा सभापति लामिछानेले आज चितवन पुगेर सरकारका कामकारबाही, प्रहरी नेतृत्व परिवर्तन र पार्टीको भूमिकाबारे दिएको अभिव्यक्तिले सरकार र पार्टीबीच सबै विषयमा एकमत नरहेको स्पष्ट पारेको छ।
उनले सरकारले गरेका सबै निर्णयलाई पार्टीले समर्थन नगर्ने र पार्टीले गरेका हरेक काममा सरकारले पनि सहमति जनाउनुपर्ने बाध्यता नरहेको बताएका छन्। लामिछानेका अनुसार सरकारका निर्णयमा थप स्पष्टता आवश्यक भए पार्टीले प्रश्न उठाउनुपर्छ।
सरकारले गरेका कामको चेक एन्ड ब्यालेन्स गर्ने, निर्णयको औचित्यबारे सोध्ने र आवश्यक स्पष्टता माग्ने काम पार्टीको जिम्मेवारी भएको उनको भनाइ छ। विशेषगरी प्रहरी महानिरीक्षक (आईजीपी) प्रकरणमा पार्टी पूर्ण रूपमा सन्तुष्ट नरहेको संकेत गर्दै उनले सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारी हेरफेर संवेदनशील विषय भएकाले सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताए।
यद्यपि पार्टी आईजीपी, डीआईजी, प्रहरी निरीक्षक वा प्रमुख जिल्ला अधिकारीको सरुवाको विरोधमा नरहेको उनको स्पष्टोक्ति थियो। सरकारले गरेका निर्णयबारे सरकारका प्रवक्ता, विज्ञप्ति तथा मन्त्रीहरूमार्फत धारणा सार्वजनिक हुँदै आएको उल्लेख गर्दै लामिछानेले कतिपय विषयमा थप स्पष्टता आउन समय लाग्ने बताए।
प्रहरी टोली सञ्चारमाध्यमको न्युजरुममा पुगेको घटनालाई भने पार्टीले गम्भीर रूपमा लिएर सरकारसँग प्रश्न गरेको उनको भनाइ थियो। यसैबीच, प्रधानमन्त्री बालेनले बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसले पार्टी र सरकारबीचको दूरीबारे थप चर्चा चुल्याएको छ।
प्रधानमन्त्रीले लेखेका छन्, ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन्, हाम्रो नेता लड्छन्, मानवताले आश गर्छन् ! फरक यति हो ! देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ !’ प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई पार्टी जोगाउने र देश जोगाउने राजनीतिक सोचबीचको अन्तरका रूपमा अर्थ्याइएको छ।
लामिछानेले पार्टीले सरकारका निर्णयमा प्रश्न उठाउनुपर्ने बताइरहेका बेला प्रधानमन्त्रीको यो स्टाटस सार्वजनिक हुनुले दुवै पक्षबीचको वैचारिक तथा राजनीतिक असहजतालाई थप सतहमा ल्याएको छ। सरकार र पार्टीबीच सन्तुलन कायम गर्ने प्रयास भइरहे पनि पछिल्ला घटनाक्रम र सार्वजनिक अभिव्यक्तिले त्यो सन्तुलन सहज रूपमा मिल्न नसकेको देखिन्छ।
एकातिर सरकार आफ्ना निर्णयको औचित्य पुष्टि गर्नुपर्ने अवस्थामा छ भने अर्कोतिर पार्टीले सरकारलाई प्रश्न गर्ने र आवश्यक परे फरक धारणा राख्ने भूमिका प्रस्तुत गरिरहेको छ।
यी अभिव्यक्तिले सरकार र पार्टी एउटै राजनीतिक पृष्ठभूमिमा रहे पनि निर्णय, प्राथमिकता र जवाफदेहिताका विषयमा फरक दिशामा उभिन थालेका हुन् कि भन्ने प्रश्न उठाएको छ।
यद्यपि दुवै नेताले एकअर्काप्रति प्रत्यक्ष असन्तुष्टि वा विवाद घोषणा गरेका छैनन्। पछिल्ला घटनाक्रमले भने सरकार र पार्टीबीचको सम्बन्धमा मनमुटाव र समन्वयको चुनौती बढ्दै गएको संकेत गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0