प्रेस स्वतन्त्रता र संविधानको रक्षाका लागि महासङ्घले आन्दोलन गर्ने

Nov 5, 2026 - 16:49
 0  7
प्रेस स्वतन्त्रता र संविधानको रक्षाका लागि महासङ्घले आन्दोलन गर्ने

१९ कातिक,काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ।

त्यसका लागि महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूको साझा सञ्जाल पापडलाई सक्रिय बनाउने निर्णय गरेको छ।

मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा बिहीबार काठमाडौँमा आयोजित अन्तरक्रियाले आन्दोलनका कार्यक्रम अघि बढाउने निष्कर्ष निकालेको हो।

 अन्तरक्रियाले प्रेस काउन्सिलसम्बन्धी अध्यादेश एकपक्षीय रहेको र सरोकारवालासँग आवश्यक छलफल नगरिएको ठहर गर्दै उक्त अध्यादेश फिर्ता लिन राष्ट्रपतिलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ।

त्यसैगरी, केही दिनअघि पत्रकारहरूमाथि भएको धरपकड र गिरफ्तारीका घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्ने तथा वर्तमान अवस्थाबारे प्रधानमन्त्री, मन्त्रीहरू र राजनीतिक दलहरूको ध्यानाकर्षण गराउने महासङ्घले जनाएको छ।

संसद्मा प्रेस स्वतन्त्रताको विषयमा प्रतिवाद गर्ने वातावरण बनाउन सांसदहरूसँग बहस तथा पैरवी गर्ने, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा रहेका अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउने र जेनजी अगुवाहरूसँग अन्तरक्रिया गर्ने निर्णय पनि भएको छ।

 कार्यक्रममा प्रेस काउन्सिलका पूर्वअध्यक्ष राजेन्द्र दाहाल, महासङ्घका पूर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले र डा. महेन्द्र विष्ट, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित, महासचिव रामप्रसाद दाहाल, सल्लाहकार रमेश विष्टलगायत सहभागी थिए।

 त्यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र, राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष डा. सुरेश आचार्य, प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डे, प्रेस सेन्टरका अध्यक्ष कमल गिरी तथा वरिष्ठ पत्रकार बबिता बस्नेतले पनि अन्तरक्रियामा धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0