सर्लाही दुर्घटनामा बाराका १२ जना घाइते, एकको अवस्था गम्भीर
७ असाेज,बारा । । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक ईभी भ्यान र साबुन बनाउन प्रयोग हुने केमिकल बोकेको ट्रक एकआपसमा ठोक्किँदा १२ जना घाइते भएका छन्।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको म.प्र.–०४–००१ ज ००५७ नम्बरको ईभी भ्यान विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०२–००२ ख १३२४ नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा घाइते हुने सबै १२ जना बारा जिल्लाका बासिन्दा रहेको विवरणमा उल्लेख छ। घाइतेमध्ये ईभी चालक महागढीमाई नगरपालिका–६ का ४१ वर्षीय कामेश्वर सहनी, सुवर्ण गाउँपालिका–४ का ४५ वर्षीय भवन राम र कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय उमेश रामको अवस्था मध्यम छ।
त्यस्तै, सुवर्ण गाउँपालिका–४ का ३७ वर्षीय रञ्जित राम गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि बारास्थित एलएस न्युरो अस्पताल पठाइएको छ। अन्य घाइतेमा महागढीमाई नगरपालिका–९ का ४८ वर्षीय राजेन्द्र राम, सुवर्ण गाउँपालिका–४ का ४० वर्षीय राजदेव राम र विनोद राम, ४७ वर्षीय रुदल राम, सुवर्ण गाउँपालिका–७ का ६३ वर्षीय हरिहर राम, कलैया उपमहानगरपालिका–२६ का ३७ वर्षीय नन्दन राम, पचरौता नगरपालिका–७ का ५५ वर्षीय रामसन्देय राम र सिम्रौनगढ गाउँपालिका–४ का ४० वर्षीय नवलकिशोर राम छन्।
उनीहरूको अवस्था सामान्य रहेको छ। दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि लालबन्दीस्थित मोडल अस्पताल पठाइएको थियो। ट्रक चालक मोरङको बूढीगंगा गाउँपालिका–४, क्याम्पसचोकका अन्दाजी ३५ वर्षीय विष्णुप्रसाद चौलागाईंलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय केशरगञ्ज पठाइएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनलाई प्रहरी चौकी फूलजोरमा ल्याउने पहल भइरहेको र दुर्घटनाका कारण राजमार्गमा सडक अवरुद्ध नभएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
1
क्या राम्रो
0