वित्तीय अपराध नियन्त्रणमा आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान अपरिहार्य : आईजीपी के.सी.
१ मंसिर,काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार के.सी.ले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई प्रभावकारी बनाउन आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन्।
अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा आयोजित एकदिवसीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै आईजीपी के.सी.ले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगले अनुसन्धानमा नयाँ चुनौती सिर्जना गरेको बताएका हुन्।
“आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान : वित्तीय अपराध रोकथाम नेपाल प्रहरीको मूल अभियान” भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यशालाको मुख्य विषयवस्तु ‘वित्तीय अपराध अनुसन्धान : प्रमाण सङ्कलनदेखि फैसलासम्म’ रहेको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै आईजीपी के.सी.ले वित्तीय अपराध अनुसन्धानका विद्यमान चुनौतीहरूको वस्तुनिष्ठ विश्लेषण गरी प्रमाण सङ्कलन, विश्लेषण, अभियोजन र न्यायिक निरूपणसम्मका प्रक्रियालाई थप प्रभावकारी बनाउने उपाय पहिचान हुने विश्वास व्यक्त गरे।
उनले वित्तीय अपराध नियन्त्रण तथा अनुसन्धानलाई परिणाममुखी बनाउन सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था, दूरसञ्चार सेवा प्रदायक र अन्य सरोकारवाला निकायबीच समन्वय, सहकार्य तथा सूचनाको प्रभावकारी आदानप्रदान अत्यावश्यक रहेको औँल्याए।
सोही अवसरमा प्रहरी महानिरीक्षक के.सी.ले ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग ३’ नामक पुस्तकसमेत लोकार्पण गरेका थिए।
कार्यशालामा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायक संस्थाका प्रतिनिधिलगायत विभिन्न सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0