सपना साकार पार्न सहर नै धाउनुपर्दैन: बारा फेटाका चार युवा एकैसाथ असईमा पासआउट, गाउँमै छायो खुसी
रमेश सुबेदी
२८ असाेज,बारा । मेहनत, लगनशीलता र आत्मविश्वास भए सफलता हासिल गर्न महँगो शिक्षण संस्था वा सुविधासम्पन्न सहर नै चाहिन्छ भन्ने छैन।
अवसरको सही उपयोग र निरन्तर प्रयासले गाउँकै सामुदायिक विद्यालयमा अध्ययन गरेका युवा पनि प्रतिस्पर्धामा अब्बल सावित हुन सक्छन् भन्ने उदाहरण बाराको फेटा गाउँपालिका–३ का चार युवाले प्रस्तुत गरेका छन्।
फेटा गाउँपालिका–३ का पप्पु, रवि, रितेश र अमित नेपाल प्रहरीको सहायक निरीक्षक पदमा छनोट भई तालिम पूरा गरेर पासआउट भएका छन्। उनीहरूको सफलताले परिवारमा खुसी थपेको छ भने गाउँमा पनि गर्व र उत्साहको वातावरण सिर्जना गरेको छ। स्थानीय सामुदायिक विद्यालय श्री नेरा माध्यमिक विद्यालय, फेटाबाट एसएलसी उत्तीर्ण गरेका चारै युवाको सफलताले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पनि सकारात्मक सन्देश दिएको छ।
सीमित स्रोतसाधनका बीच अध्ययन गरेर पनि निरन्तर मेहनत र दृढ संकल्पका आधारमा प्रतिस्पर्धात्मक परीक्षामा सफलता प्राप्त गर्न सकिन्छ भन्ने उनीहरूको उपलब्धिले देखाएको छ। चार युवाको सफलताप्रति उद्योग विभाग, मधेश प्रदेशका महानिर्देशक सुशील साहले बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत नेपाल प्रहरीको सहायक निरीक्षक पदमा छनोट भई सफलतापूर्वक तालिम पूरा गरेका फेटा गाउँपालिका–३ का युवाहरूलाई बधाई दिएका हुन्। साहको शुभकामना सन्देशले युवाहरूको व्यक्तिगत उपलब्धिप्रति सम्मान व्यक्त गर्नुका साथै स्थानीयस्तरमा प्रतिभा र सम्भावनाको पहिचानलाई पनि उजागर गरेको छ।
चार युवाको सफलता उनीहरूका परिवारमा मात्र सीमित नरही सरकारी सेवामा प्रवेश गर्ने लक्ष्य राखेका अन्य युवाका लागि पनि प्रेरणाको स्रोत बन्न सक्छ। फेटा–३ मा शैक्षिक उपलब्धिका अन्य सकारात्मक उदाहरण पनि रहेको स्थानीयको दाबी छ।
यस वर्ष वडाका एक युवक र एक युवतीले चिकित्सा शिक्षा अध्ययनका लागि चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरेको तथा करिब १० जना विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेको जानकारी प्राप्त भएको छ।
शिक्षा र सरकारी सेवामा युवाहरूले हासिल गरिरहेका उपलब्धिले फेटा गाउँपालिकाको शैक्षिक तथा सामाजिक विकासप्रतिको सम्भावनालाई उजागर गर्छ। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी, सरकारी सेवामा प्रवेश गर्ने सपना देखेका युवा र आफ्ना सन्तानको भविष्यका लागि संघर्षरत अभिभावकका लागि यस्ता सफलता उत्साह जगाउने आधार बन्न सक्छन्।
तालिम सम्पन्न गरेपछि चारै जनालाई आगामी कात्तिक ९ गतेदेखि कार्यक्षेत्रमा खटाइने भएको छ। निर्धारित कार्यविभाजनअनुसार पप्पुलाई नुवाकोट, रविलाई सिन्धुपाल्चोक, रितेशलाई मोरङ र अमितलाई झापा जिल्लामा खटाइनेछ।
फेटा–३ का यी चार युवाको सफलता केवल चार व्यक्तिको उपलब्धि मात्र होइन, सम्भावना बोकेका ग्रामीण युवाको मेहनत, आत्मविश्वास र लक्ष्यप्रतिको प्रतिबद्धताको उदाहरण पनि हो। उनीहरूको यात्राले गाउँमै बसेर सपना देख्ने र त्यसलाई साकार पार्न मेहनत गर्ने नयाँ पुस्तालाई अघि बढ्न प्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0