रुसमा सैन्य यातायात विमान दुर्घटना, १९ जनाको मृत्यु
२ मंसिर,काठमाण्डाैं । रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा सैन्य यातायात विमान ‘एएन–१२’ दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
मंगलबार (१७ नोभेम्बर २०२६) यागुनोभो गाउँनजिक उक्त विमान दुर्घटनामा परेको हो। रुसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार विमान निर्धारित उडानमा रहेका बेला मानिसको बसोबास नभएको क्षेत्रमा खसेको थियो।
केमेरोभो क्षेत्रका गभर्नर इल्या सेरेदियुकले स्थानीय समयअनुसार राति करिब ९:३० बजे दुर्घटनाबारे जानकारी दिएका थिए। दुर्घटनास्थलमा लागेको आगो आपत्कालीन उद्धार टोलीले नियन्त्रणमा लिएको थियो।
रुसी रक्षा मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानमा प्राविधिक खराबीलाई दुर्घटनाको सम्भावित कारण मानिएको छ। दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन रुसी एयरोस्पेस फोर्सेसका विशेषज्ञसहित सम्बन्धित निकायले अनुसन्धान थालेका छन्।
सीसीटीभी फुटेजमा विमान आकाशबाट खस्दै गरेको र जमिनमा ठोक्किएपछि आगलागी भएको दृश्य देखिएको छ। एएन–१२ चार इन्जिनयुक्त सैन्य यातायात विमान हो। यसको प्रयोग सैनिक कर्मचारी, हतियार, गोला बारुद तथा अन्य सैन्य सामग्री ओसारपसारका लागि गरिन्छ।एजेन्सीकाे सहयाेगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0