यमपञ्चकको अन्तिम दिन आज भाइटीका, उत्तम साइत बिहान ११:०७ बजे
२५ कातिक,काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज बुधबार भाइटीका श्रद्धा, आस्था र धार्मिक विधिपूर्वक मनाइँदैछ।
दिदीबहिनीले दाजुभाइको दीर्घायु, आरोग्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका तथा फूलमाला लगाइदिएर यो पर्व मनाउने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ।
धार्मिक मान्यताअनुसार भाइटीकाको सम्बन्ध यमराज र उनकी बहिनी यमुनासँग जोडिएको छ। पौराणिक कथाअनुसार यमुनाले आफ्ना दाजु यमराजलाई घरमा बोलाएर विधिपूर्वक पूजा, सत्कार तथा टीका लगाई दीर्घायुको कामना गरेकी थिइन्।
बहिनीको स्नेह र आतिथ्यबाट प्रसन्न भएका यमराजले आफूले टीका लगाएको दिन दिदीबहिनीको हातबाट टीका लगाउने दाजुभाइको आयु, आरोग्य र कल्याण हुने वरदान दिएको धार्मिक विश्वास छ। यही धार्मिक मान्यताका आधारमा भाइटीका मनाउने परम्परा सुरु भएको विश्वास गरिन्छ।
यस दिन दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर मण्डपमा राख्ने, अष्टचिरञ्जीवीको पूजा गर्ने, सप्तरङ्गी टीका लगाइदिने तथा मखमली, सयपत्री र गोदावरी फूलका माला पहिर्याउने चलन छ। साथै ओखर, कटुस, मिठाई तथा विभिन्न परिकार सगुनका रूपमा दिने परम्परा पनि रहेको छ।
भाइटीकामा प्रयोग गरिने मखमली फूललाई नओइलाउने सम्बन्ध र दीर्घायुको प्रतीकका रूपमा लिइन्छ भने सप्तरङ्गी टीकाले सुख, शान्ति, समृद्धि र मंगलको कामना गर्ने धार्मिक तथा सांस्कृतिक अर्थ बोकेको छ। भाइटीकाका अवसरमा दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर उनीहरूप्रति सम्मान, प्रेम र सद्भाव प्रकट गर्छन्।
यस पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आत्मीय सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै नेपाली समाजमा पारिवारिक एकता, आपसी सद्भाव र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यमपञ्चकको अन्तिम दिनका रूपमा मनाइने भाइटीकासँगै पाँच दिनसम्म चल्ने तिहार पर्व पनि विधिवत् रूपमा समापन हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0