गोरखामा ट्याक्सी ४० मिटर तल खस्यो, दुई महिलाको अवस्था गम्भीर, पाँच जना घाइते

Nov 11, 2026 - 13:49
 0  14
गोरखामा ट्याक्सी ४० मिटर तल खस्यो, दुई महिलाको अवस्था गम्भीर, पाँच जना घाइते

२५ कातिक,काठमाण्डाैं  । गोरखाको सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट करिब ४० मिटर तल खस्दा पाँच जना घाइते भएका छन्।

 घाइतेमध्ये दुई महिलाको अवस्था गम्भीर रहेको छ। बुधबार  बिहान करिब ११ः३० बजे चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८ नम्बरको ट्याक्सी सिउरेनीस्थित कच्ची सडकको छेउमा रोकिराखेको अवस्थामा अचानक ब्याक भएर सडकबाट तल खसेको हो।

 दुर्घटनामा ट्याक्सी चालकसहित पाँच जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनामा गोरखाको सिरानचोक गाउँपालिका–५ भाँगे निवासी ४० वर्षीय ट्याक्सी चालक वीरबहादुर गुरुङ सामान्य घाइते भएका छन्।

 त्यस्तै, सिरानचोक गाउँपालिका–२ मैपते निवासी ३२ वर्षीया मञ्जु परियार र अन्दाजी ५० वर्षीया गीतामाया परियार गम्भीर घाइते भएका छन्। गीतामायाको टाउकोमा भित्री चोट लाग्नुका साथै दाहिने खुट्टा र छातीमा समेत चोट लागेको छ।

 उनी बोल्न सक्ने अवस्थामा रहे पनि उनको अवस्था गम्भीर रहेको बताइएको छ। दुर्घटनामा सोही स्थानकी २० वर्षीया अञ्जना अछामी र ३० वर्षीया गीता परियार मध्यम घाइते भएका छन्।

 घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट प्रहरी हवल्दार होमबहादुर रानाको कमाण्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। दुर्घटनास्थल अस्थायी प्रहरी पोस्ट चित्रेपोखरीबाट करिब सात किलोमिटर उत्तरमा पर्दछ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0