उदयपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते, सडकबाट १५ मिटर तल खस्यो
२४ कातिक,काठमाण्डाैं । उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेर्वा चोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
मंगलबार दिउँसो १२ः४० बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१–०२–००१ ज ४६२१ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको हो।
काठमाडौँ महानगरपालिका–३२ बस्ने करिब ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त माइक्रोबसमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा चालक केसीसहित १० जना घाइते भएका छन् भने एक बालिका सकुशल रहेकी छन्।
घाइते हुनेमा चालक कृष्ण केसी, झापाको सुरुङ्गा नगरपालिका–३ की ४० वर्षीया रेणुका प्रसाईं र उनका १४ वर्षीय छोरा नैन प्रसाईं, मोरङको उर्लाबारी नगरपालिका–३ की ५० वर्षीया निलकुमारी लम्साल, सुनसरीको इटहरी उपमहानगरपालिका–१२ की ४३ वर्षीया मुना ढकाल, उदयपुरको बेलका नगरपालिका–१ का ३८ वर्षीय प्रवीण तामाङ, मोरङको सुन्दरहरैँचा नगरपालिका–४ का ७० वर्षीय अमृतबहादुर खड्का, सुनसरीको इटहरी उपमहानगरपालिका–८ की ३७ वर्षीया रञ्जिता गौतम तथा उदयपुरको चौदण्डीगढी नगरपालिका–१० की २५ वर्षीया जमुना परियार विक र उनका ९ वर्षीय छोरा अंकित विक रहेका छन्। रेणुका प्रसाईंकी १० वर्षीया छोरी निरुसा प्रसाईं भने दुर्घटनामा सकुशल रहेकी छन्।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0