भारतकाे बेतियास्थित ‘सेनको गोल्ड’ शोरुममा करोडौँको लुटपाट : अनुसन्धानका लागि एसआईटी गठन
एजेन्सी
३ मंसिर,काठमाण्डाैं । भारतको बिहारस्थित पश्चिम चम्पारण जिल्लाको बेतियामा रहेको ‘सेनको गोल्ड एन्ड डायमन्ड्स’ शोरुममा भएको करोडौँ रुपैयाँको गहना लुटपाट घटनाको अनुसन्धान गर्न विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ।
बुधबार (मंसिर २ गते) दिउँसो करिब १२ः३० बजे तीनवटा मोटरसाइकलमा आएका आठ जना हतियारधारी लुटेराले ग्राहक बनेर शोरुम प्रवेश गरी कर्मचारी तथा ग्राहकलाई नियन्त्रणमा लिएका थिए।
लुटेराहरूले भित्र रहेका कर्मचारी र ग्राहकका मोबाइल फोन खोसेर उनीहरूको हात बाँधिदिएका थिए। त्यसपछि शोरुममा रहेका सुन, चाँदी तथा हिराका गरगहना लुटेर उनीहरू फरार भएका थिए।
लुटपाटको विरोध गर्ने एक सुरक्षा गार्डको टाउकोमा हतियारको कुन्दाले प्रहार गरी घाइते बनाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार लुटिएका गरगहनाको प्रारम्भिक मूल्य ३० देखि ४० करोड भारतीय रुपैयाँसम्म अनुमान गरिएको छ।
शोरुमका सञ्चालक ब्रजेश कुशवाहाले करिब ३५ करोड रुपैयाँ बराबरका गहना लुटिएको बताएका छन्। यद्यपि, वास्तविक क्षतिको विवरण स्टक मिलानपछि मात्र यकिन हुने जनाइएको छ।
घटनालगत्तै चम्पारण रेन्जका प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरकिशोर राय, एसएसपी कुमार गौतमलगायतका उच्च प्रहरी अधिकारीहरू घटनास्थल पुगेका थिए। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरीले तत्काल एसआईटी गठन गरी अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका क्रममा प्रहरीले शोरुम तथा आसपासका क्षेत्रका सीसीटीभी फुटेज सूक्ष्म रूपमा जाँच गरिरहेको छ। घटनास्थलमा फरेन्सिक टोली र तालिमप्राप्त कुकुरसमेत परिचालन गरी प्रमाण संकलन गरिएको प्रहरीले जनाएको छ।
शोरुम सञ्चालक कुशवाहाले प्रहरीबाट केही शंकास्पद व्यक्तिको पहिचान भएको जानकारी पाएको बताएका छन्। घटनामा केही स्थानीय व्यक्तिहरूको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ। तर, प्रहरीले संलग्न व्यक्तिहरूको पहिचान वा पक्राउबारे अहिलेसम्म औपचारिक पुष्टि गरिसकेको छैन।
दिनदहाडै व्यस्त बजार क्षेत्रमा भएको यो करोडौँको लुटपाट घटनाले बेतियाका व्यवसायी तथा स्थानीय बासिन्दामा त्रास फैलिएको छ।फाेटाे: मलेयालम मनाेरमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0