बंगलादेशमा राजनीतिक हिंसा उग्र, परराष्ट्र राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहारदेखि पूर्वमन्त्रीको घरमा आगजनीसम्म

Nov 21, 2026 - 13:12
 0  15
बंगलादेशमा राजनीतिक हिंसा उग्र, परराष्ट्र राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहारदेखि पूर्वमन्त्रीको घरमा आगजनीसम्म

५ मंसिर,काठमाण्डाैं। बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिनाको स्वदेश फिर्तीको विषयलाई लिएर राजनीतिक तनाव चर्किँदै गएको छ। हसिनाको नेतृत्वमा रहेको अवामी लिगका समर्थकले आन्दोलन चर्काएपछि देशका विभिन्न स्थानमा आगजनी, बम विस्फोट, सडक अवरोध र राजनीतिक नेताका निवासमा आक्रमणका घटना भएका छन्।

पछिल्लो घटनाक्रममा बंगलादेशका परराष्ट्र राज्यमन्त्री हुमायुन कबिरको सिलेटस्थित निवासको मुख्य प्रवेशद्वारबाहिर पेट्रोल बम प्रहार गरी आगो लगाइएको छ। शुक्रबार बिहान भएको उक्त घटनामा कुनै मानवीय क्षति वा ठूलो भौतिक क्षति नभएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न व्यक्तिको पहिचानका लागि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसैगरी, बिहीबार राजशाहीस्थित पूर्वपरराष्ट्र राज्यमन्त्री शाहियार आलमको चारतले घरमा पनि आगजनी गरिएको छ। मोटरसाइकलमा आएका पाँचदेखि छ जनाको समूहले घरको पर्खाल नाघेर प्रवेश गरी पेट्रोल छर्केर आगो लगाएको स्थानीय प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए।यसअघि नोबेल शान्ति पुरस्कार विजेता तथा बंगलादेशका पूर्वअन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको चटगाउँस्थित पुर्ख्यौली निवासमा पनि आगजनी भएको थियो।

घरको भुइँतलामा रहेको प्रयोगविहीन कोठामा आगो लगाइएको प्रहरीले जनाएको छ। घटनामा परिवारका सदस्य सुरक्षित रहेका छन्। बंगलादेशमा जारी हिंसाका क्रममा कम्तीमा तीन जनाको मृत्यु भएको समाचार सार्वजनिक भएको छ।

 विभिन्न जिल्लामा सवारीसाधन, प्रहरी कार्यालय, राजनीतिक दलका नेता तथा समर्थकका घर र व्यावसायिक प्रतिष्ठानसमेत निशानामा परेका छन्। युनुसले स्थापना गरेको ग्रामीण बैंकका ४० जिल्लामा रहेका ७२ शाखा तथा कार्यालय नोभेम्बर १० देखि १९ सम्म आक्रमण वा तोडफोडको निशानामा परेको विवरण सार्वजनिक भएको छ।

हिंसा नियन्त्रणका लागि सरकारले सात जिल्लामा सीमा सुरक्षा बलका ९७ प्लाटुन परिचालन गरेको छ। राजधानी ढाकामा मात्रै पछिल्लो २४ घण्टामा अवामी लिगसँग सम्बन्धित १२४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सन् २०२४ को विद्यार्थी आन्दोलनपछि सत्ता गुमाएर भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा बंगलादेश फर्किने इच्छा व्यक्त गरेकी छन्।

स्वदेश फर्किन आवश्यक राहदानी तथा परिचयपत्र उपलब्ध गराउन गरिएको उनको माग सरकारले अस्वीकार गरेपछि अवामी लिगले आन्दोलन र देशव्यापी बन्दको कार्यक्रम अघि सारेको हो।

हसिनाको स्वदेश फिर्ती, अवामी लिगको राजनीतिक भविष्य र वर्तमान सरकारको सुरक्षा नीतिलाई लिएर बंगलादेशमा राजनीतिक ध्रुवीकरण बढ्दै गएको छ। शुक्रबार हिंसात्मक घटनामा केही कमी आएको विवरण सार्वजनिक भए पनि देशको सुरक्षा अवस्था र राजनीतिक स्थिरतामाथि चुनौती कायम छ।

 अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा बंगलादेशी समाचार संस्थाहरूको विवरणका आधारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0