प्रेम विवाहको दुई महिनामै १८ वर्षीया सुमेदीको मृत्यु, माइती पक्षद्वारा दाइजो यातनापछि हत्या भएको आरोप

Sep 4, 2026 - 12:21
 0  8
प्रेम विवाहको दुई महिनामै १८ वर्षीया सुमेदीको मृत्यु, माइती पक्षद्वारा दाइजो यातनापछि हत्या भएको आरोप

१९ भदाै,रौतहट । प्रेम विवाह गरेको दुई महिना नपुग्दै रौतहटकी १८ वर्षीया सुमेदी कुमारी पटेल घरकै भान्सा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।

 घटनापछि उनका माइती पक्षले भने आत्महत्या नभई हत्या गरेर झुन्ड्याइएको हुनसक्ने आरोप लगाएका छन्। रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा भदौ १७ गते बिहान करिब ५ बजे सुमेदी सालको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

 सासुले बुहारीलाई झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाएको छ। गरुडा नगरपालिका–७ पिपरिया निवासी सुमेदीले गत असार १९ गते देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलसँग परिवारको सहमतिबिना प्रेम विवाह गरेकी थिइन्।

 विवाहपछि उनी रौनककै घरमा बस्दै आएकी थिइन्। मृतकका बुवा लालबाबु पटेलले विवाहपछि छोरीलाई दाइजोका नाममा मानसिक तथा शारीरिक यातना दिने गरिएको आरोप लगाएका छन्।

 उनका अनुसार रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले ६ तोला सुन, मोटरसाइकल, नगदलगायत दाइजो माग गर्दै आएका थिए। मागअनुसार दाइजो दिन नसकेपछि छोरीमाथि कुटपिट, दुर्व्यवहार र मानसिक यातना हुने गरेको माइती पक्षको दाबी छ।

 यही कारण सुमेदीको हत्या गरी शव झुन्ड्याएर आत्महत्या गरेको देखाउन खोजिएको हुनसक्ने उनीहरूले आशंका गरेका छन्। घटनापछि सुमेदीको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको थियो। पोस्टमार्टमपछि बिहीबार साँझ नै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै सुमेदीको मृत्युको वास्तविक कारण यकिन हुने बताएका छन्। यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यका अनुसार माइती पक्षले बिहीबार रौनकसहितका व्यक्तिविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिन खोजेका थिए। तर, पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको प्रकृतिअनुसार कानुनी प्रक्रिया अघि बढाउने सहमति भएपछि उनीहरू फर्किएका थिए।

 सुमेदीको मृत्यु आत्महत्या हो वा अन्य कारणबाट भएको हो भन्ने विषयमा अहिले नै निष्कर्षमा पुग्न सकिने अवस्था छैन। माइती पक्षले लगाएको हत्या तथा दाइजो यातनासम्बन्धी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ। घटनाको वास्तविकता पत्ता लगाउन मृत्यु हुनुअघिको घटनाक्रम, पारिवारिक सम्बन्ध, दाइजोसम्बन्धी विवाद, सम्भावित यातना तथा घटनास्थलको अवस्थालगायत सबै पक्षमा निष्पक्ष अनुसन्धान आवश्यक देखिन्छ।

 मृतकका आफन्तले घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी पाइए कानुनअनुसार कडा कारबाही गर्न माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0