खराब मौसम र न्यून दृश्यताका कारण देशभर आन्तरिक हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान भने नियमित

Sep 25, 2026 - 12:18
 0  6
खराब मौसम र न्यून दृश्यताका कारण देशभर आन्तरिक हवाई उडान प्रभावित, अन्तर्राष्ट्रिय उडान भने नियमित

९ असाेज,काठमाडौं । लगातारको वर्षा र प्रतिकूल मौसमका कारण देशभर आन्तरिक हवाई उडान प्रभावित भएका छन्।

कम भिजिबिलिटीका कारण शुक्रबार बिहानदेखि भरतपुर, पोखरा, लुक्ला, सिमरा र सुर्खेत विमानस्थलबाट उडान सञ्चालन हुन सकेका छैनन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमध्ये पनि मौसमका कारण केही उडान रद्द भएका छन् भने केही उडान ढिला भइरहेका छन्।

विमानस्थलको विवरणअनुसार यती एयरलाइन्सको बिहानको माउन्टेन फ्लाइट NYT301 रद्द भएको छ। लुक्लातर्फको उडान सबैभन्दा बढी प्रभावित भएको छ। सिता एयरले शुक्रबारका लुक्लाका सबै उडान रद्द गरेको छ भने तारा एयर र समिट एयरका उडान मौसममा सुधारको प्रतीक्षामा छन्।

बुद्ध एयर र श्री एयरलाइन्सका माउन्टेन फ्लाइट तथा नेपाल एयरलाइन्सको भोजपुर उडानसमेत रद्द भएको जनाइएको छ। आज त्रिभुवन विमानस्थलबाट १३४ वटा आन्तरिक प्रस्थान उडान तय गरिएको थियो। जसमा बुद्ध एयरका ५८, यती एयरलाइन्सका २७, श्री एयरलाइन्सका २३, समिट एयर र तारा एयरका १०–१०, सिता एयरका चार तथा नेपाल एयरलाइन्सका दुई उडान रहेका छन्।

 मौसमका कारण यीमध्ये केही उडान रद्द, ढिला वा पुनःतालिकीकरण हुन सक्ने विमानस्थलले जनाएको छ। यात्रुहरूलाई विमानस्थल जानुअघि सम्बन्धित वायुसेवा कम्पनी वा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफ्नो उडानको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरिएको छ। अन्तर्राष्ट्रिय उडान भने हालसम्म मौसमका कारण प्रभावित नभएको जनाइएको छ।फाईल फाेटाे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0