वीरगञ्ज आईसीपीबाट निस्केकाे माछाको मिनी ट्रक फेरि समातियाे: भन्सार छली र ‘सेटिङ’ को श्रृंखला फेरि उदाङ्गियो

Nov 7, 2026 - 09:21
 0  59
वीरगञ्ज आईसीपीबाट निस्केकाे माछाको मिनी ट्रक फेरि समातियाे: भन्सार छली र ‘सेटिङ’ को श्रृंखला फेरि उदाङ्गियो

२१ कातिक,बारा । वीरगञ्जस्थित एकीकृत जाँच चौकी (आईसीपी) को कडा सुरक्षा घेरा र भन्सार जाँचलाई छलेर बारम्बार भन्सार घोषणाभन्दा बढी परिमाणमा मालसामान भित्रिनु र त्यसमाथि सुरक्षा तथा प्रशासनिक निकायले नै घटनाका विवरण लुकाउन खोज्नुले सिङ्गो व्यवस्थामाथि गम्भीर प्रश्नचिह्न खडा गरेको छ। ​

भारतबाट माछा बोकेर आईसीपी हुँदै वीरगञ्जको नगवास्थित सुरज फिस सप्लायर्सको गोदामतर्फ जाँदै गरेको ‘यूपी ६६ एटी ८०४७’ नम्बरको मिनी ट्रक सशस्त्र प्रहरीले सुक्रबार राती  पुन: नियन्त्रणमा लिनु सामान्य घटना होइन।

 यसअघि पनि कात्तिक १८ गते नियन्त्रणमा लिइएको ट्रकको जाँच गर्दा घोषणा गरिएको भन्दा ४४ बाक्सा (२ हजार ६ सय ४० किलोग्राम) बढी माछा फेला परेको थियो। अझ गम्भीर र डरलाग्दो विषय त यो छ कि, त्यही ट्रकमा माछाको त्रिपालमुनि लुकाएर ल्याइएको अवस्थामा प्रतिबन्धित पटाकासमेत बरामद भएको थियो।

 ​एउटै व्यावसायिक नेक्सससँग जोडिएका माछा ढुवानीका गाडीहरूमा बारम्बार यसरी नियम विपरीतका सामान भित्रिनु र भन्सार जाँचमा संलग्न अधिकृत तथा कर्मचारीहरू यो विषयमा चुपचाप रहनुले कतै यो भन्सारका कर्मचारीदेखि सुरक्षा पोस्टसम्मको ‘मिसिनरी सेटिङ’ त होइन भन्ने शंकालाई बल पुर्याएको छ।

यति संवेदनशील र कानुनविपरीतका घटना हुँदा पनि सुरक्षा निकाय र भन्सार प्रशासनले सुरुमा यसलाई बाहिर ल्याउनुको सट्टा सूचना लुकाउने र लुकाउन खोज्ने प्रवृत्तिले तल्लो तहदेखि माथिल्लो तहसम्मको मिलेमतो (सेटिङ) रहेको जनगुनासोलाई थप पुष्टि गरेको छ। ​

देशको प्रमुख नाका मानिने वीरगञ्ज भन्सारबाटै यसरी राजस्व छली हुनु र प्रतिबन्धित तथा विस्फोटक पदार्थसमेत भित्रिनुले राष्ट्रिय सुरक्षा र राजस्व प्रणालीमाथि नै ठوलो प्रश्न उठेको छ।

सुक्रबार राति  नियन्त्रणमा लिइएको मिनी ट्रकमाथिको जाँचले मात्र यो प्रपञ्च स्पष्ट पार्दैन, बरु यसका पछाडि रहेका सेटिङ र संरक्षण गर्नेहरूको गहन छानबिन गरी कडा कानुनी कारबाही गर्न अब ढिलाइ गर्नु हुँदैन। पक्राउ परेकाे ट्रक भन्सार बुझाउने तैयारी भईरहेकाे छ । फाेटाे एआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 1
क्या राम्रो क्या राम्रो 0