भन्सार छलीको आशंकामा पक्राउ गरिएको माछासहितको मिनी ट्रक भन्सार कार्यालयमा बुझाइयो

Nov 5, 2026 - 11:45
 0  18
भन्सार छलीको आशंकामा पक्राउ गरिएको माछासहितको मिनी ट्रक भन्सार कार्यालयमा बुझाइयो

१९ कातिक,बारा  । जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको माछा बोकेको मिनी ट्रक आवश्यक जाँचबुझका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ।

वीरगञ्ज महानगरपालिका–नगवास्थित सुरज फिस सप्लायर्सको माछा बोकेको प्रदेश २००–१–ख–७०७४ नम्बरको मिनी ट्रक प्रहरीले बुधबार राति नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएपछि वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको उक्त गाडीलाई थप जाँचबुझका लागि भन्सार कार्यालयमा बुझाइएको हो।

भारतको आन्ध्र प्रदेशबाट ल्याइएको माछाको भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट मात्रै उल्लेख भए पनि गाडीमा १४४ क्यारेट माछा रहेको स्रोतको दाबी छ। प्रज्ञापनपत्रमा उल्लेख भएकोभन्दा बढी परिमाणमा माछा भित्र्याउन खोजिएको आशंकामा प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो।

यसअघि एउटै भन्सार प्रज्ञापनपत्र प्रयोग गरी तीनवटा गाडीमा माछा भित्र्याउन खोजिएको सूचना प्रहरीसम्म पुगेको बताइएको थियो। सोही सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदा एउटा गाडी नियन्त्रणमा परेको र अन्य दुईवटा गाडी भने फेला नपरेको स्रोतले जनाएको छ।

अब भन्सार कार्यालयले गाडीमा रहेको माछाको वास्तविक परिमाण, भन्सार प्रज्ञापनपत्रमा उल्लेख भएको विवरण र भन्सार प्रक्रिया पूरा भए–नभएको विषयमा जाँचबुझ गर्नेछ।

 भन्सार कार्यालयको जाँचपछि मात्रै माछाको परिमाणमा भएको भनिएको अन्तर र सम्भावित भन्सार छलीबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0