बाढीपीडितका लागि चीनले पठायो राहत सामग्री, सैन्य विमान काठमाडौंमा
ईर्साद अन्सारी
१४ भदाै,काठमाडौं । रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि चीनले अत्यावश्यक राहत सामग्रीसहित सहयोग अघि बढाएको छ ।
चीनले पहिलो चरणमा सैन्य कार्गो विमानमार्फत नेपालमा राहत सामग्री पठाउन थालेको जनाइएको छ । राहत सामग्री बोकेको एक विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको र अर्को विमान पनि चीनको सिचुआन प्रान्तको राजधानी छङ्तुबाट नेपालका लागि प्रस्थान गरेको बताइएको छ ।
बाढीबाट ठूलो जनधनको क्षति भएपछि नेपालले छिमेकी मुलुकसँग खोज तथा उद्धारका लागि विशेष प्राविधिक सहयोग मागेको थियो । सोहीअनुसार चीनले सुरुङ उद्धारमा विशेषज्ञता भएको टोली नेपाल पठाएको हो ।
चिनियाँ टोली शनिबार नेपाल आइपुगेको र सुरुङ उद्धार कार्यमा परिचालन भएको नेपाल सरकारका अधिकारीहरूले बताएका छन् । यसअघि भारतले पनि सुरुङ उद्धारमा विशेषज्ञता भएको ११ सदस्यीय प्राविधिक टोली नेपाल पठाएको थियो ।
भारत र चीनका टोलीलाई नेपाल सरकारको समन्वयमा जलविद्युत् आयोजनाका सुरुङ तथा अन्य भूमिगत संरचनामा फसेका व्यक्तिको खोज तथा उद्धारमा परिचालन गरिएको छ । भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नेपाली तथा विदेशी नागरिकको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीसमेत निरन्तर खटिएको छ ।
त्रिशूली–३ ‘ए’ लगायतका सुरुङ क्षेत्रमा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन विदेशी प्राविधिक सहयोगसमेत उपयोग गर्न थालिएको हो । नेपाल सरकारले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, शव पहिचान तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय सहयोग स्वीकार गर्दै विशेष प्राविधिक सहयोगलाई प्राथमिकता दिएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0