बराह सहकारीको ५ अर्ब ८८ करोडभन्दा बढी हिनामिना प्रकरणका मुख्य योजनाकार शिव कुमार विश्वकर्मा (लामिछाने) पक्राउ
२ मंसिर,काठमाण्डाै । बराह सहकारीको ५ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणका मुख्य योजनाकार भनिएका शिव कुमार विश्वकर्मा (लामिछाने) पक्राउ परेका छन्।
गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वकर्मालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको जानकारी दिएका हुन्। गृहमन्त्री गुरुङले पूर्वी नेपालका बचतकर्ताको पीडालाई न्याय दिन लामो समयदेखि प्रयास भइरहेको उल्लेख गर्दै मुख्य योजनाकारलाई कानुनी कठघरामा उभ्याउन सफल भएको बताएका छन्।
उनले करिब ६ वर्षअघि धरानमा सञ्चालित ‘सेभ घोपा’ अभियानका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आवाज उठाउँदा पूर्वका बचतकर्ताहरूको पीडाबारे आफूले सुनेको र त्यसले निरन्तर झकझकाइरहेको उल्लेख गरेका छन्।
गृहमन्त्रीको जिम्मेवारी सम्हालेकै दिनदेखि पूर्वका नागरिकको पीडालाई न्याय दिन खोजी तीव्र पारिएको बताउँदै उनले अब क्रमशः अन्य दोषीहरूको खोजी तथा कारबाही प्रक्रिया पनि तीव्र बनाइने जनाएका छन्।
उनले बराह सहकारी प्रकरणमा संलग्न अन्य व्यक्तिहरूलाई समेत कानुनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0